निर्जीवन बीमा व्यवसाय १०% ले बढ्यो, शिखरले धेरै गर्दा युनाइटेडको वृद्धिदर उच्च

0
Shares

निर्जीवन बीमा व्यवसाय कोरोना भाइरसका महामारीका बीच पनि दश प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालू आर्थिक वर्ष (२०७७/७८) को यसै अवधिमा निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क संकलन ९.९१ प्रतिशतले बढेको हो ।

बीमा समितिबाट प्राप्त पुस मसान्तसम्मको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २० मध्ये राष्ट्रिय बीमा कम्पनी बाहेक १९ निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । गत आवको पुस मसान्तमा १३ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

कोरोना भाइरस संक्रमणका नियन्त्रण तथा रोकथाम गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले गत चैतदेखि असार साउनसम्म नै निर्जीवन बीमा व्यवसाय पूर्ण रुपमा प्रभावित भएको थियो । तरपनि चालू आवको पुस मसान्तसम्म आउँदा निर्जीवन बीमा व्यवसायमा सुधार देखिएको छ ।

यसबीचमा कोरोना भाइरस संक्रमणका कारण सरकारले गरेको लकडाउनका कारण कम्पनीहरुले व्यवसाय विस्तार गर्न सकेनन् । निर्जीवन बीमा व्यवसायमा धेरै हिस्सा रहने गरेको मोटर बीमा तीन यातायात सञ्चालनमा हुन नसक्दा ठप्प रह्यो । निर्जीवन बीमा व्यवसाय बैंक तथा वित्तीय कारोबारसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । बैंक तथा वित्तीय संसथाहरूले जेजति क्षेत्र तथा सम्पत्तिमा ऋण लगानी गर्छन् तीमध्ये अधिकांशमा बीमा गर्नुपर्ने हुन्छ । बन्दाबन्दी अवधिमा बैंकिङ्ग व्यवसाय समेत प्रभावित बनेपछि निर्जीवन बीमाको ग्रोथ समेत खुम्चिएको हो ।

हरेक आर्थिक वर्षको अर्धवार्षिक अवधिलाई समीक्षा अवधिको रुपमा समेत हेर्ने गरिन्छ । कम्पनीहरुले यस अवधिमा कमाएको नाफा एवं अन्य शुल्कको आधारमा नै एक आर्थिक वर्षका लागि लिएको लक्ष्य पूरा हुन्छ वा हुन्न भन्ने पनि अनुमान गर्ने गरिन्छ ।

  • पाँच कम्पनीको १ अर्ब बढी बीमा शुल्क संकलन, शिखरको २ अर्ब माथि

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ मध्ये ५ निर्जीवन बीमा कम्पनीले एक अर्ब रुपैयाँ बढी बीमा शुल्क संकलन गर्न सफल भएका छन् । एक अर्ब भन्दा बढी बीमा शुल्क गर्ने पाँच कम्पनीमा शिखर, नेको, सगरमाथा, सिद्धार्थ र एनएलजी इन्स्योरेन्स रहेका छन् ।

शिखर इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा शिखरले १ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । २०७६ पुसको तुलनामा इन्स्योरेन्सले १५.९३ प्रतिशतले व्यवसाय वृद्धि गरेको हो ।

चालु आवको पुस मसान्तसम्मको अवधिमा नेको इन्स्योरेन्सले १ अर्ब ३५ करोड, सगरमाथाले १ अर्ब ३३ करोड, सिद्धार्थले १ अर्ब २१ करोड र एनएलजी इन्स्योरेन्सले १ अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

समीक्षा अवधिमा ४ कम्पनीको बीमा शुल्क संकलन रकम भने घटेको छ । प्रुडेन्सियल, हिमालयन जनरल, नेशनल र ओरियन्टल इन्स्योरेन्सको बीमा शुल्क संकलन रकम घटेको हो ।

बीमा समितिले उपलब्ध गराएको तथ्याकंमा राष्ट्रिय बीमा कम्पनीको विवरण भने उल्लेख गरिएको छैन ।

  • युनाइटेड र अजोड इन्स्योरेन्सको कुल बीमाशुल्क ५०%धेरै बढ्यो

गत आर्थिक वर्षको पुस मसान्तको तथ्याङ्कलाई आधार मान्दा युनाइटेड र अजोड इन्स्योरेन्सको कुल बीमाशुल्क संकलन सबैभन्दा धेरै अर्थात ५० प्रतिशतभन्दा बढी बढेको छ ।

गत आवको यसै अवधिमा ३६ करोड रुपैयाँ मात्र कुल बीमा शुल्क संकलन गरेको युनाइटेडले चालु आवको पुस मसान्तसम्ममा ५५.५६ प्रतिशत (२० करोड रुपैयाँ) ले बढाएर ५६ करोड रुपैयाँ संकलन गरेको छ । यस्तै गत आवको यसै अवधिमा ४१ करोड बीमाशुल्क संकलन गरेको अजोडले ५३.६६ प्रतिशत (२२ करोड रुपैयाँ) ले व्यवसाय वृद्धि गर्दै ६३ करोड रुपैयाँ संकलन गरेको हो ।

सानिमा जनरल इन्स्योरेन्सले पनि गत पुसको तुलनामा ४७.३७ प्रतिशत (९ करोड रुपैयाँ) ले व्यवसाय विस्तार गरेको छ । २०७६ पुससम्ममा १९ करोड बीमाशुल्क उठाएको यस कम्पनीले २०७७ पुससम्ममा २८ करोड संकलन गरेको हो ।

सिद्धार्थ, शिखर, नेको, एनएलजी, जनरल र एभरेष्ट इन्स्योरेन्सको व्यवसाय वृद्धिदर १३ देखि २१ प्रतिशतसम्मले बढेको छ ।

  • चार बीमा कम्पनीको बीमा शुल्क संकलन रकम घट्यो

गत आर्थिक वर्षको ६ महिना अवधिको तुलनामा चालु आर्थिक वर्षको यसै अवधिमा १५ वटा बीमा कम्पनीले कुल बीमा शुल्क संकलन रकम बढाउँदा ४ कम्पनीको भने घटेको छ । गत पुसको तुलनामा प्रुडेन्सियल, हिमालयन जनरल, नेशनल र ओरियन्टल इन्स्योरेन्सको कुल बीमा शुल्क संकलन घटेको हो ।

समीक्षा अवधिमा हिमालयन जनरल इन्स्योरेन्सको कुल बीमाशुल्क रकम सबैभन्दा धेरै ३० प्रतिशतले घटेको छ । कम्पनीले पुस मसान्तसम्म ४९ करोड रुपैयाँ मात्र बीमाशुल्क संकलन गरेको छ । गत आवको पुस मसान्तसम्म ७० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका कम्पनीको बीमाशुल्क संकलन २१ करोड रुपैयाँले घटको हो ।

यस्तै प्रुडेन्सियल इन्स्योरेन्स ११.६७ प्रतिशत, ओरियन्टल ८.४७ प्रतिशत र नेशनल इन्स्योरेन्सको बीमाशुल्क संकलन पनि ४.४४ प्रतिशतले घटेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।