शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने


काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेञ्चर’ निष्काशन गर्न लागेको हो।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ। सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्रमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा सबै बिक्री नभएमा भने निष्काशन अवधि साउन १४ गतेसम्म लम्बिने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने छ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  ०७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।