जीवन बीमा कम्पनीद्धारा ६ महिनामा २१ अर्बको नयाँ व्यवसाय विस्तार, पुसमा मात्रै साढे ६ अर्बले बढ्यो

0
Shares

जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा सवा २१ अर्बले व्यवसाय विस्तार गरेका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा कुल २१ अर्ब २५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका हुन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले ६२ अर्ब ८५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जसमध्ये प्रथम बीमाशुल्कको हिस्सा ३३.८१ प्रतिशत हुन आउँछ ।

बीमा समितिले उपलब्ध गराएको चालु आवको पुस मसान्तसम्मको तथ्याङ्क अनुसार नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै व्यवसाय विस्तार गरेको छ । इन्स्योरेन्सले यस अवधिमा ४ अर्ब ६७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । कम्पनीले पछिल्लो एक महिना अर्थात पुसमा मात्रै एक अर्ब २८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको हो ।

समितिको तथ्यांक अनुसार नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), नेशनल, युनियन लाइफ, एशियन, सूर्या र गुराँस लाइफ इन्स्योरेन्सले धेरै प्रथम बीमा शुल्क संकलन गरेका छन् । यी ७ वटै कम्पनीले १ अर्ब भन्दा धेरै प्रथम बीमा शुल्क संकलन गरेका हुन् ।

१२ कम्पनीको प्रथम बीमा संकलन रकम १ अर्ब भन्दा कम छ । जसअन्तर्गत रिलायन्स, सिटिजन, ज्योति, प्राइम, सानिमा, सन नेपाल, प्रभु, आईएमई, मेट लाइफ, रिलायबल नेपाल लाइफ, महालक्ष्मी लाइफ र राष्ट्रिय बीमा संस्थान रहेका छन् ।

हरेक आर्थिक वर्षको अर्धवार्षिक अवधिलाई समीक्षा अवधिको रुपमा समेत हेर्ने गरिन्छ । कम्पनीहरुले यस अवधिमा कमाएको नाफा एवं अन्य शुल्कको आधारमा नै एक आर्थिक वर्षका लागि लिएको लक्ष्य पूरा हुन्छ वा हुन्न भन्ने पनि अनुमान गर्ने गरिन्छ ।

  • अर्ब भन्दामाथि बीमा शुल्क संकलन गर्ने ७ कम्पनी

चालु आवको ६ महिनामा सात जीवन बीमा कम्पनीले एक अर्बभन्दा बढी प्रथम बीमा शुल्क उठाउन सफल भएका छन् । मंसिरसम्म चार कम्पनीले अर्बमाथि प्रथम बीमाशुल्क संकलन गरेका थिए ।

नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), नेशनल, युनियन लाइफ, एशियन, सूर्या र गुराँस लाइफ इन्स्योरेन्स गरी ७ जीवन बीमा कम्पनीले पुससम्ममा १ अर्ब भन्दा माथि प्रथम बीमा शुल्क संकलन गर्न सफल भएका हुन् । मंसिरसम्म नेपाल लाइफ, एलआईसी, नेशनल र युनियन लाइफले अर्बमाथि प्रथम बीमाशुल्क उठाएका थिए ।

चालु आवको अर्धवार्षिक अवधिमा नेपाल लाइफले ४ अर्ब ६७ करोड, एलआइसी नेपालले दुई अर्ब, ५ करोड, नेशनलले एक अर्ब ८५ करोड, गुराँसले एक अर्ब २ करोड, एशियनले एक अर्ब १७ करोड, यूनियनले एक अर्ब ७६ करोड र सूर्या लाइफले एक अर्ब १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

  • पुस महिनामा मात्रै साढे ६ अर्ब प्रथम बीमा शुल्क संकलन

चालु आर्थिक वर्षको ६ महिनासम्ममा २१ अर्ब २५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेकोमा पुस महिनामा मात्रै जीवन बीमा कम्पनीले ६ अर्ब ५८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । यो कुल नयाँ व्यवसाय विस्तारको ३०.९६ प्रतिशत हुन आउँछ ।

चालु आर्थिक वर्षको पाँच महिनासम्मको अवधि (मंसिर महिनासम्म) मा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले कुल १४ अर्ब ६७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका थिए ।

जीवन बीमा कम्पनीहरुले ६ महिनामा गरेको नयाँ व्यवसाय विस्तालाई शतप्रतिशत मान्दा पछिल्लो एक महिना अर्थात पुसको व्यवसाय विस्ताको हिस्सा ३१ प्रतिशत हुनुले पुस महिनामा कम्पनीहरुले आक्रमक रुपमा नयाँ व्यवसाय विस्तार गरेको देखिन्छ । यसअघिका पाँच महिनामा औषत १३.८ प्रतिशतका दरले व्यवसाय बढाएका जीवन बीमा कम्पनीहरुले पुसमा औषतभन्दा १७.१६ प्रतिशत धेरै नयाँ व्यवसाय बढाएका हुन् ।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार पुस महिनामा सबैभन्दा बढी प्रथम बीमा शुल्क संकलन नेपाल लाइफले गरेको छ । मंसिर मसान्तसम्म ३ अर्ब ३९ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको नेपाल लाइफले पुसमा मात्रै १ अर्ब २८ करोड रुपैयाँ संकलन गरेको हो ।

पुसमा महिनामा अठार जीवन बीमा कम्पनीको एक अर्ब भन्दा कम बीमा शुल्क संकलन गरेका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), गुराँस लाइफ, युनियन लाइफ, सूर्या लाइफको प्रथम बीमाशुल्क संकलन ५० करोडभन्दा माथि छ ।

एशियन लाइफ ४३ करोड, नेशनल लाइफ इन्स्योरेन्स ४२ करोड र ज्योति लाइफले पुसमा ३४ करोड प्रथम बीमाशुल्क संकलन गरेका छन् । रिलायबल नेपाल लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ, आइएमई लाइफ र सिटिजन्स लाइफले पुसमा २० करोडभन्दा बढी प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

६ जीवन बीमा कम्पनीको पुस महिनाको प्रथम बीमाशुल्क २० करोडभन्दा कम छ । जसमध्ये राष्ट्रिय बीमा संस्थानको ५ करोड मात्र रहेको छ । महालक्ष्मी, प्रभु, सन नेपाल, मेट लाइफ र प्राइम लाइफको प्रथम बीमाशुल्क पुसमा २० करोडभन्दा कम छ ।

  • प्रथम बीमाशुल्क भनेको के हो ?

प्रथम बीमाशुल्क भनेको कम्पनीहरुले नयाँ ग्राहकहरुबाट संकलन गर्ने पहिलो प्रिमियम (एफपिआर) रकम हो । यसरी बीमा कम्पनीहरुले बिक्री गरेको सुरुवातको किस्ता वापत प्राप्त हुने रकम नै प्रथम बीमशुल्क हो ।

बीमा कम्पनीहरुमा ग्राहकले बीमालेख खरीद गर्दा सुरुमा पहिलो किस्ता वापतको प्रिमियम तिर्छन् भने थप प्रिमियम भने १ महिना ३ महिना, ६ महिना वा १ वर्षमा तिर्ने गरी खरीद गरेका हुन्छन् । बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्कलाई भने नबिकरण बीमाशुल्क भनिन्छ ।

यसरी पहिलो किस्ता (प्रथम बीमाशुल्क) वापत संकलन हुने प्रिमियम र नविबरण बीमा वापत प्राप्त हुने प्रिमियम शुल्कलाई जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखाउने तरिका फरक-फरक हुन्छ ।

सम्बन्धीत अन्य समाचारहरु:-

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।