एनआईसी एशियाले ३ कम्पनीको शेयर बेचेर कम्तिमा ४१ करोड आम्दानी गर्ने

0
Shares

एनआईसी एशिया बैंक आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीको संस्थापक शेयर बिक्री गरेर कम्तिमा ४१ करोड रुपैयाँ जुटाउने योजनामा छ । तर पटक पटकको प्रयास गर्दा पनि बैंकको शेयर भने बिक्री हुन सकेको छैन् ।

बैंकले बिक्रीमा राखेको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले यसअघि पनि शेयर बिक्रीका लागि सूचना प्रकाशित गरेकोमा बिक्री हुन नसकेपछि मूल्य घटाएर सूचना जारी गरेको थियो ।

बैंकले नागरिक लगानी कोषको १ लाख ८२ हजार ५६० कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ९२ हजार २६६ कित्ता र सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ७३ हजार ८४४ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ ।

बैंकले नागरिक लगानी कोषको न्यूनतम शेयरमूल्य प्रतिकित्ता १ हजार ६२३ रुपैयाँ, नेशनल लाइफको ५३० रुपैयाँ र सूर्या लाइफको ३७८ रुपैयाँ तोकेको छ। बैंकले अघिल्लो पटकको भन्दा मूल्य घटाएको हो । बैंकले यो शेयर बिक्री गरेर कम्तिमा ४१ करोड रुपैयाँ जुटाउने योजनामा छ । न्यूनतम मूल्यमा शेयर बिक्री भएमा बैंकले ४१ करोड १० लाख ८२ हजार ७३६ रुपैयाँ आम्दानी गर्नेछ ।

यसअघि बैंकले नागरिक लगानी कोषको न्यूनतम शेयरमूल्य १ हजार ७१५ रुपैयाँ, नेशनल लाइफको ५५० रुपैयाँ र सूर्या लाइफको ३३७ रुपैयाँ तोकेको थियो। बैंकले यसअघि पनि थुप्रै पटक शेयर बेच्ने प्रयास गरेको थियो ।

शेयर खरिदका लागि योग्य लगानीकर्ताहरुले माघ २० गतेदेखि २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। यसअघि बैंकले पुस १९ गतेदेखि २४ गतेसम्ममा बोलकबोल प्रक्रियाबाट शेयर खरिद गर्न आह्वान गरेको थियो।

लगानीकर्ताहरुले बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर, थापाथली तथा विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन।

बैंकको शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।