रसुवागढी हाइड्रो आगामी असारसम्म सम्पन्न हुने, भौतिक प्रगति ८० प्रतिशत

0
Shares

रसुवागढी हाइड्रोपावर कम्पनीले २०७८ असारसम्मा बिजुली बाल्ने प्रक्षेपण गर्दै चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।

कम्पनी चालु आवको पुस मसान्तसम्ममा ६६ लाख १० हजार रुपैयाँ नाफामा पुगेको छ । गत आवको यसै अवधिमा कम्पनी २ करोड १० लाख रुपैयाँ नोक्सानीमा थियो ।

तर, यसअवधिमा कम्पनीको सञ्चालन नाफा भने एक करोड ४० लाख ऋणात्मक छ । कम्पनीले १ करोड ४७ लाख रुपैयाँ अन्य आम्दानी गर्दा नाफामा पुगेको हो । चालु आवको ६ महिनामा कम्पनीले ब्याज आम्दानी गरेको छैन । जबकी गत आवको यहि अवधिमा कम्पनीले ७३ लाख ब्याज आम्दानी गरेको थियो ।

चुक्ता पूँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको हाइड्रोको प्रतिशेयर आम्दानी पनि ०.०२ पैसा रहेको छ । जगेडा कोष २० करोड ११ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको जगेडा कोष नोक्सानी रहेकाले कम्पनीको प्रतिशेयर नेटवर्थ ९६.७३ रुपैयाँ छ।

कम्पनीको दीर्घकालिन ऋण ६ अर्ब ५३ करोड रुपैयाँ छ भने अल्पकालिन ऋण ५२ करोड रुपैयाँ छ । कर्मचारी संचयकोषले कम्पनीको ऋणको ब्याज एक प्रतिशतले घटाइदिएको छ । बार्षिक १०.७५ प्रतिशत ब्याज तिर्दै आएको कम्पनीले गत साउनदेखी ९.७५ प्रतिशत तिर्दै आएको छ । यसले पनि कम्पनीलाई कही राहत मिलेको छ ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका १ र २ मा निर्माणाधिन आयोजना १११ मेगावाटको हो । विद्युत खरिद बिक्री सम्झौता (पीपीए) मा उल्लेख भए अनुसार आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ हुने अनुमान गरिएकोमा विदेशी मुद्रा सटहीदर, प्राकृतिक विपत्ति, र बन्द हड्तालले आयोजनाको लागत बढ्ने वित्तीय विवरणमा उल्लेख छ ।

साथै पछिल्लो समय कोरोनाको कारण आयोजनाको काम बन्द हुँदा पनि थप आर्थिक भार व्योहोर्नुपर्ने अवस्था देखिएको छ । आयोजना स्थल विकट स्थानमा रहेकाले पहिरोको कारण समेत निमार्ण कार्यमा असर गरिरहेको छ ।

यससँगै जनताको जलविद्युतमा सम्मिलित आयोजनामा लगानी गरेका लगानीकर्ताले छिटो लाभांश पाउने समयावधि थप लम्बिएको छ । आयोजनाको भौतिक प्रगति ८० प्रतिशतमात्र रहेकाले कम्पनीबाट लाभांश पाउने समय पर धकेलिने भएको हो । २०७८ असार मसान्तसम्ममा निर्माण पूरा गर्ने योजना हाइड्रोले बनाएपनि सो अवधिमा आयोजना सम्पन्न हुन त परको कुरा थप भििौतक प्रगति समेत नभएपछि आयोजनाको २० प्रतिशत निमार्णको काम सम्पन्न हुन चालु आवको अन्त्यसम्म लाग्ने देखिन्छ ।

नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिट र वर्षयाममा ४ रुपैयाँ ८० पैसा प्रतियुनिटको दरमा विद्युत खरिद गर्ने सम्झौता भैसकेको छ । यसबाट कम्पनीले वार्षिक ३ अर्ब २५ करोड रुपैयाँभन्दा धेरै आम्दानी हुने उल्लेख छ । आयोजना निर्माण भएर पूर्ण रुपमा विद्युत उत्पादन थालेको अवस्थामा हाइड्रोले वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन गर्नेछ ।

आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण शेयर स्वामित्व रहेको छ। जसमध्ये नेविप्राको १८ प्रतिशत, चिलिमेको ३२.७९ प्रतिशत, रसुवाको स्थानीय तहको ०.२१ प्रतिशत गरि ३ अर्ब ४८ करोड ९४ लाख ७१ हजारको संस्थापक शेयर र सर्वसाधारणका लागि २ अर्ब ६६ करोड ८४ लाख १९ हजार गरि कूल ६ अर्ब १५ करोड ७८ लाख ९० हजारको शेयर स्वामित्व छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।