होटल फरेष्ट इनको आईपीओ बाँडफाँड सम्पन्न


काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा होटल फरेष्ट इन लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर ४० लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सोमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइएको शेयर वितरण पश्चात् बाँकी ३३ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि मिति २०८२ माघ २२ गतेदेखि खुला गरिएको थियो।

उक्त आईपीओमा २३ लाख ७१ हजारभन्दा बढी आवेदकबाट करिब २ करोड ५७ लाख कित्ताका लागि आवेदन प्राप्त भएकोमा गोलाप्रथामार्फत ३ लाख ३२ हजार सफल आवेदकलाई प्रतिव्यक्ति १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको निष्काशन तथा बिक्री प्रबन्धकले जनाएको छ।

बाँडफाँड प्रक्रिया निष्काशनकर्ता कम्पनी, नियामक निकायका प्रतिनिधि तथा प्रोफेशनल कम्प्युटर सिस्टम प्रा।लि।को उपस्थितिमा सम्पन्न गरिएको हो।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार  १३ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।