काठमाडौं । एसटिसी अटो सोलुसन प्रा। लि।ले भारतको चर्चित विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी ‘एम्पियर’ का दुई मोडेलका स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले पत्रकार सम्मेलनमार्फत एम्पियर म्याग्नस नियो र एम्पियर नेक्सस मोडेल बजारमा ल्याएको जानकारी दिएको हो।
कम्पनीका अनुसार एम्पियर भारतमा विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादनमा स्थापित ब्रान्ड हो र यसका उत्पादनहरू उच्च प्रविधि तथा गुणस्तरका लागि परिचित छन्। सार्वजनिक गरिएका स्कुटरहरूमा लिथियम फेरो फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जसले उच्च तथा न्यून तापक्रममा समेत राम्रो कार्यसम्पादन गर्ने कम्पनीको दाबी छ। ब्याट्रीमा ५ वर्ष वा ७५ हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिएको छ।
एम्पियर म्याग्नस नियो
यस स्कुटरमा २।३ किलोवाट क्षमताको मोटर र २।३ किलोवाट आवरको लिथियम ब्याट्री जडान गरिएको छ। एकपटक फुल चार्ज गर्दा करिब १०० किलोमिटरसम्म गुड्न सक्ने कम्पनीको दाबी छ। १५० किलो लोडिङ क्षमता र १६५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको यस स्कुटरमा लो, हाई र रिभर्स राइडिङ मोड उपलब्ध छन्। यसको मूल्य ३ लाख रुपैयाँ कायम गरिएको छ।
एम्पियर नेक्सस
नेक्सस मोडेलमा ३ किलोवाट क्षमताको मोटर र ३ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ। एकपटक फुल चार्ज गर्दा करिब १०७ किलोमिटरसम्म गुड्न सक्ने बताइएको छ। यो ब्याट्री घरमै ३ घण्टा ३० मिनेटमा चार्ज गर्न सकिन्छ। यस स्कुटरमा पाँच राइडिङ मोड, अलोय ह्वील, डिस्क ब्रेक, एलईडी लाइट, यूएसबी चार्जर तथा कनेक्टिभिटी जस्ता फिचरहरू उपलब्ध छन्। यसको मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकिएको छ।
कम्पनीले नेपालमा विद्युतीय सवारी साधनको बढ्दो मागलाई मध्यनजर गर्दै गुणस्तरीय तथा विश्वसनीय उत्पादन उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।












प्रतिक्रिया