विद्यालयमा अमेरिका र इजरायलकाे संयुक्त आक्रमण, १०८ जनाको मृत्यु


तेहरान । इरानको एक विद्यालयमा गरेको आक्रमणबाट कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । अमेरिका र इजरायलले संयुक्त रुपमा हवाई आक्रमणमा गर्दा कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएका छन् ।

इरानी विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समा इरानको दक्षिणी भागमा केटीहरूका लागि प्राथमिक शिक्षा पढाइका लागि स्थापित विद्यालय भवनबाट धुवाँको मुस्लो निस्केको तस्बीर सार्वजनिक गरेका थिए ।

अराघचीले भने, “यो विद्यालयमा साना बच्चाहरू उपस्थित रहेका समय दिनदहाडै बमबारी गरिएको थियो । यो ठाउँमा मात्रै दर्जनौं निर्दोष बालबालिकाको हत्या भएको छ । इरानी जनतामाथि भएका यी अपराधको जवाफ दिइनेछ ।”

आइआरएनएका अनुसार इजरायलले शनिबार इरानको दक्षिणी प्रान्त होर्मोज्गानको मिनाब काउन्टीमा रहेको छात्राको एक प्राथमिक विद्यालयमा आक्रमण गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ताले भने, “अन्य सम्भावित पीडितहरूको खोजी गर्न भवनको भग्नावशेष हटाउने काम जारी छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रारम्भिक आक्रमणमै इरानका सर्वोच्च नेता अली खामेनी र उनका धेरै वरिष्ठ कमाण्डरहरू मारिएको दाबी गरेका छन् ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार  ०८ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।