श्री स्टील्सको आईपीओ तयारी, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग बिक्री प्रबन्धक नियुक्त


काठमाडौँ । श्री स्टील्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धी निर्देशिकाअनुसार निकट भविष्यमा नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको जनाएको छ।

उक्त आईपीओ निष्काशन कार्यका लागि कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।

नेपालको प्रतिष्ठित उद्योगमध्ये एक श्री स्टील्स लिमिटेड पूर्ण स्वचालित प्लान्टसहित त्ःत् रिबार उत्पादनमा विशेषज्ञता हासिल गरेको कम्पनी हो। भौगोलिक जटिलता तथा उच्च भूकम्पीय जोखिम रहेको नेपालजस्तो देशमा बलिया र सुरक्षित संरचना निर्माणको आवश्यकता मध्यनजर गर्दै कम्पनीले गुणस्तरीय उत्पादनमा जोड दिएको जनाएको छ।

कम्पनीका अनुसार श्री स्टील्स नेपालकै पहिलो ब्रान्ड हो, जससँग रिबार उत्पादनका लागि सिक्स स्ट्यान्ड ब्लक मिलमा आधारित अत्याधुनिक जापानी प्रविधियुक्त उपकरण रहेको छ। विश्वस्तरीय प्रविधिको प्रयोगमार्फत उत्कृष्ट उत्पादन गर्दै नेपालको औद्योगिक आधार सुदृढ बनाउने, फलाम तथा रडजन्य पदार्थमा देशलाई आत्मनिर्भर बनाउने तथा रोजगारी सिर्जना गर्ने कम्पनीको प्रमुख उद्देश्य रहेको जनाइएको छ।

आज सम्पन्न सम्झौतामा स्टील्स लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए। उक्त सम्झौता कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सोमेश अग्रवालको रोहवरमा सम्पन्न भएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार  १५ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।