रिभर्स रिपोको ब्याजदर वर्षकै उच्च, २० अर्बका लागि ५६ अर्बको आवेदन

0
Shares

वित्तीय प्रणालीमा अधिक तरलताको समस्या अझै केही समय कायम रहने देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार निष्काशन गरेको एक साता अवधिको रिभर्स रिपोमा करिब ३ गुणाँ धेरै आवेदन परेपछि अधिक तरलता अझै केही समय रहने देखिएको हो ।

तर, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निष्काशन गरेको एक साता अवधिको रिभर्स रिपोको रेट भने चालु आर्थिक वर्षकै उच्च रहेको छ । केन्द्रीय बैंकले चालु आवमा एक साता अवधिको रिर्भस रिपो यसभन्दा अघि ३ पटक निष्काशन गरेको छ । चालु आवमा निष्काशन भएको ९० दिने र २८ दिन रिभर्स रिपो ब्याजदर भने ७ दिने भन्दा माथि नै रहेको थियो ।

बिहीबार निष्काशन भएको रिभर्स रिपोको औसत भारित दर ०.३६६३ कायम भएको छ । यसभन्दा अघिका सोही अवधिका रिभर्स रिपोको रेट ०.०४६४, ०.०३३० र ०.०२२८ प्रतिशत रहेको थियो । बिहीबार केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बरावरको रिभर्स रिपो निष्काशन गरेकोमा १८ बैंक तथा वित्तीय संस्थाले १२३ वटा आवेदन मार्फत ५५ अर्ब ९० करोड रुपैयाँ बरावरको आवेदन परेको केन्द्रीय बैंकले जनाएको छ । बोलकबोल मार्फत निर्धारण भएको ब्याजदरमा आवेदकले अधिकतम ०.४४९४ र न्यूनतम ०.२५०० प्रतिशत माग गरेको थिए ।

रिभर्स रिपोको ब्याजदरमा आएको सुधारले भने बैंकहरुमा कर्जाको माग आएको देखिन्छ । बैंकहरुले सस्तो दरमा प्रतिस्पर्धा गरेर भन्दा पनि कर्जामा लगानी गर्न खोजेको देखिन्छ । तरलता कसिलो हुँदै गएकाले ब्याजदर बढेको मान्न सकिँदैन। रिभर्स रिपोमा परेको आवेदनले भने अधिक तरलता रहेको स्पष्ट हुन्छ । यसले आगामी दिनमा वित्तीय प्रणालीको ब्याजदर बढ्ने संकेत गरेको पनि हुन सक्छ ।

केन्द्रीय बैंकले जारी गरेको ४२ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बिहीबार परिपक्क हुने भएकाले पनि बजारमा अधिकत तरलता हुन नदिनका लागि २० अर्ब रुपैयाँ बरावरको रिभर्स रिपो निष्काशन गरेको हो । निक्षेप उपकरण परिपक्क भएपछि वित्तीय प्रणालीमा तरलता एक खर्ब भन्दा माथि पूग्ने भएकाले बिहीबार २० अर्ब खिचेको हो । बिहीबार केन्द्रीय बैंकले २० अर्ब खिचेपछि पनि वित्तीय प्रणालमिा करिब ८५ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ ।

रिभर्स रिपो जारी हँदा बैंकहरुले प्रतिस्पर्धात्मक ब्याज दरमा केन्द्रीय बैंकलाई रकम उपलब्ध गराउँछन् । केन्द्रीय बैंकले सस्तो ब्याज दरलाई प्राथमिकता दिई बैंकहरुबाट रकम लिने गर्दछ । त्यसैले ब्याज दर जति कम कायम भयो, बैंकहरुसँग उति बढी तरलता रहेको मानिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।