दिगो बैंकिङ प्रवर्द्धन गर्न महालक्ष्मी विकास बैंकको पदयात्रा कार्यक्रम


काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत २ दिने कार्यशाला आयोजना गरी वातावरण, संस्कृति तथा सम्पदा संरक्षण र दिगो बैंकिङ प्रवर्द्धनप्रति प्रतिबद्धता व्यक्त गर्दै पोखराको फेवाताल किनारमा सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ।

बैंकका अनुसार उक्त कार्यक्रम फागुन २४ र २५ गते सञ्चालन गरिएको थियो। कार्यक्रममा बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

दुईदिने कार्यशालामा बैंकको चालु आर्थिक वर्षको हालसम्मको समग्र वित्तीय अवस्था, हालै सम्पन्न सफल निर्वाचनपछिको सकारात्मक आर्थिक वातावरण तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट सिर्जना हुन सक्ने सम्भावित आर्थिक चुनौतीबारे विस्तृत समीक्षा तथा छलफल गरिएको बैंकले जनाएको छ।

त्यसैगरी बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासलाई आत्मसात गर्नुपर्ने सन्देश आमजनसमक्ष पुर्‍याउने उद्देश्यका साथ ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण मानिने फेवाताल किनारमा सामूहिक पदयात्रा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा हरित बैंकिङ तथा दिगो वित्तीय रणनीतिको आवश्यकता माथि विशेष जोड दिइएको थियो।

“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले विगत एकतीस वर्षदेखि नेपाली जनताको घरदैलोमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर एक सय तीन शाखा कार्यालय सञ्चालनमा रहेका छन् भने करिब आठ लाख पचास हजारभन्दा बढी ग्राहक लाभान्वित भइरहेका छन्।

प्रकाशित मिति: २७ फाल्गुन २०८२, बुधबार  १६ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।