महिला लघुवित्तको आईपीओः साढे २ प्रतिशत आवेदकले मात्रै पाउने-अधिकांशको हात खाली

0
Shares

महिला लघुवित्त वित्तीय संस्थाको शुक्रबार बाँडफाँड हुन लागेको प्राथमिक शेयर (आईपीओ) साढे २ प्रतिशत आवेदकले मात्रै पाने भएका छन् ।

सीमित संख्यामा निष्काशन भएको आईपीओमा उच्च आवेदनका कारण लघुवित्तको आईपीऋो बाँडफाँड ‘हात्तिको मुखमा जिरा’ भन्ने उखान जस्तै हुने भएको हो ।  लघुवित्तको आईपीओमा आवेदन गरेका ३७ हजार ५०० जनाले मात्र धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार हात पार्नेछन् ।

लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेकोमा फागुन १४ गते शुक्रबार बिहान बाँडफाँड हुन लागेको हो ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार लघुवित्तको आईपीओमा उच्च आवेदन परेका कारण साढे २ प्रतिशत आवेदकले मात्र गोलाप्रथाबाट शेयर पाउने भएका छन् ।

बिक्री प्रबन्धकका अनुसार लघुवित्तको आईपीओमा कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका छन् । जसमध्ये १५ लाख ३६ हजार ६८२ जनाको आवेदन सदर भएको छ भने ३ हजार ३५३ आवेदकको आवेदन रद्ध गरिएको छ ।

लघुवित्तको आईपीओ सदर आवेदकमध्ये १५ लाख २ हजार ५३५ जनाको हात खाली हुनेछ । जुन कुल आवेदकको साढे ९७ प्रतिशतभन्दा बढी हो ।

लघुवित्तले प्रतिशेयर मूल्य १०० रुपैयाँ अंकित दरका ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर संस्थाका कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएका थियो । बाँकी ३ लाख ७५ हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले शुक्रबार बिहान ८ बजे हात्तिसार स्थित नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँड हुने जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १३ फाल्गुन २०७७, बिहिबार  १७ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।