दुई महिना पछि सुनको मूल्य ३ लाखबाट तल झर्यो, एकैदिन झण्डै ८ हजारको गिरावट


काठमाडौँ । माघ ९ गतेदेखि ३ लाख माथि नाघेको सुनको मूल्य करिब २ महिनापछि ३ लाखबाट तल झरेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य एकै दिन सुन तोलामा ७ हजार ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट छ । आज चाँदी तोलामा ११५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ८९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७१५.८१ अमेरिकी डलर र चाँदी ७३.७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।