‘पार्किङ्ग मनि’ बाहिरिन थालेपछि दुई हजार ५०० बिन्दुभन्दा तल झर्यो नेप्से

0
Shares

लगानीका अन्य क्षेत्र संकुचित हुँदा शेयर बजारमा भित्रिएको पार्किङ्ग मनि बाहिरिन थालेसँगै शेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट देखिन थालेको छ । यससँगै शेयर बजार परिसूचक नेप्सेले वियरिस ट्रण्ड समात्दा साताको पहिलो कारोबार दिन नेप्से २ हजार ५०० बिन्दुभन्दा तल झरेको छ ।

आइतबार बजार खुलको १ घण्टा नबित्दै ५४ अंकले नेप्से घट्दा सूचक २ हजार ५०० बिन्दुभन्दा तल झरेको हो । बिहीबार ४४ अंकले घटेको नेप्से सूचक आइतबार सो भन्दा उच्च अंकले गहिरिएको छ । बिहीबारअघि गत बुधबार नेप्से १३ अंकले बढेपनि सो भन्दा अघिल्ला दुई दिन मंगलबार र बुधबार पनि नेप्से क्रमशः साढे ३२ र २१ अंकले घटेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा माग भई अधिक तरलता रकम घट्दा त्यसको सोझो प्रभाव शेयर बजारमा परेको हो । बैंकिङ्ग प्रणालीमा दुई महिनाअघि २ खर्बमाथि अधिक रहेको तरलता पछिल्लो समय ६० अर्ब भन्दा तल झरेको छ । तरलता घट्दै जाँदा अब ब्याजदर पनि बढ्ने संकेत देखिएको छ । केही बैंकले मुद्दती निक्षेपको ब्याजदर वृद्धि गरेको सूचना समेत सार्वजनिक गरिसकेका छन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्षमा करिब १ राष्ट्र ऋण उठाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा ७ महिनामा ३ खर्ब १२ अर्ब निक्षेप बढ्दा ४ खर्ब ३२ अर्ब रुपैयाँले कर्जा विस्तार भएको तथ्याङ्क छ । निक्षेप संकलन भन्दा कर्जा विस्तार बढी हुन थालेपछि शेयर बजारमा करेक्शन सुरु भएको हो ।

अर्कोतर्फ धेरैजसो बैंक तथा वित्तीय संस्थाहरुको साधारण सभा सम्पन्न भई गत आवको बोनस शेयर समेत बजारमा थपिएको छ । उच्च बिन्दुमा नेप्से रहेको बेला शेयर बिक्री र सस्तो मूल्यमा शेयर उठाउन रणनीतिमा बाठा लगानीकर्ता लग्दा नव प्रवेशी लगानीकर्ता बुल ट्रापमा पर्ने जोखिम बढेको हो । पछिल्ला दिनमा नेप्से सूचकसँगै निरन्तर कारोबार रकम समेत घट्दै गएको अवस्था छ ।

आइतबार बजार खुलको साढे ३ घण्टा अवधिमा २०७ कम्पनीका १ करोड ३४ लाख कित्ता शेयर ६ अर्ब ९५ करोड रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १६ फाल्गुन २०७७, आइतबार  १४ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।