काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा निरन्तर गिरावट आएको छ । एक साताको अवधीमा सुनको मूल्यमा ६.४१ प्रतिशतको गिरावट आएको हो ।
सामान्यतया अन्तर्राष्ट्रिय जगतमा राजनीतिक अस्थिरता र द्धन्द्ध बढ्दा सुरक्षित लगानीको रुपमा सुनको मूल्य उकालो लाग्ने गर्दथ्यो । तर यसपटक भने परिस्थिति फरक देखिएको छ । अमेरिका इजरायल र इरानबिच युद्ध चर्किरहँदा सुनको मूल्यमा वृद्धि हुनुको साटो दैनिक उच्च गिरावट आइरहेको छ ।
गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस ४ हजार ७१५.८१ अमेरिकी डलर रहेको सुनको भाउ एक साता पछि ४ हजार ४३१.४५ अमेरिकी डलर कायम भएको छ । त्यस्तै, सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । गत शुक्रबार प्रतिऔँस ७३.७१ अमेरिकी डलर रहेको चाँदीको मूल्य हाल घटेर ६८.७२ अमेरिकी डलर कायम भएको छ ।
नेपाली बजारमा साढे १३ हजारले घट्यो सुन, चाँदीको मूल्यमा पनि गिरावट
नेपालमा पनि अन्तर्राष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण हुने हुँदा मूल्यमा उच्च गिरावट आएको छ । नेपाली बजारमा पनि एक साताको अन्तरालमा सुनको भाउ प्रति तोला १३ हजार ५०० रुपैयाँले घटेको छ ।
गत शुक्रबारको तुलनामा यस शुक्रबारसम्म आइपुग्दा सुन र चाँदी दुवैको भाउ घटेको छ ।
आज शनिबार सार्वजनिक बिदा भएकाले बजारमा शुक्रबारकै मूल्य कायम छ । गत शुक्रबार प्रतितोला सुन २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार एकैदिन सुन तोलामा १२ हजार ५०० रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको थियो भने सोमबार तोलामा ६ हजार ५०० रुपैयाँले घटेर २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार २ लाख ७३ हजार ९०० रुपैयाँ कायम भएको सुनको भाउ बुधबार एकैदिन तोलामा १४ हजार ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको थियो भने बिहीबार पुनः घटेर प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको महासंघको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि उत्तरचढाव कायमै रहेको छ । चाँदीमा साताभरीमा २२५ रुपैयाँले घटेको छ । शुक्रबार ४ हजार ८९५ रुपैयाँ रहेको चाँदी आइतबार तोलामा ३५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५४० रुपैयाँ कायम भएको थियो । त्यस्तै, सोमबार ४ हजार ४२५ रुपैयाँ, मंगलबार प्रतितोला ४ हजार ५०५ रुपैयाँ, बुधबार ४ हजार ९२० रुपैयाँ, बिहीबार ४ हजार ८२० रुपैयाँ र शुक्रबार ४ हजार ६७० रुपैयाँमा कारोबार भएको हो ।
बजारको यो प्रवृत्ति हेर्दा आगामी दिनमा सुनको मूल्य अझ घट्ने प्रक्षेपण गरिएको छ । विश्लेषकहरूले युद्दको बाबजुद पनि सुनको मूल्य घट्नुको मुख्य कारण तेलको मूल्यवृद्धि र मौद्रिक नीतिमा परिवर्तन हुनुलाई लिएका छन् ।
युद्धले होर्मुज जलमार्ग प्रभावित गर्दा कच्चा तेलको मूल्य बढेको छ । होर्मुज जलमार्ग लामो समयसम्म प्रभावित भएमा तेलको मूल्य अझै बढ्ने देखिन्छ । तेलको मूल्य बढ्दा यसले विश्वव्यापी मुद्रास्फीति बढाएको छ ।
त्यस्तै, अमेरिकी फेडरल रिजर्भले ब्याजदर कटौतीको सम्भावना घटाएको छ । सुनले ब्याज नदिने भएकाले लगानीकर्ताहरूले यसलाई कम रुचाएका कारण मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य बताउँछन् ।
‘अहिलेको युद्धमा इरानको तेल खानीमा आक्रमण गरेपछि विश्व बजारमा तेलको भाउ महँगियो । यसरी अत्यावश्यक वस्तुको भाउ महँगिदा सुनको भाउमा गिरावट आएको हो’ उनले भने ।
उनका अनुसार, विश्व बजारमा तेलको संकट देखिएपछि सुनका लगानीकर्ताहरु सुन बेचेर डलरमा तेल खरिद गर्नतिर आकर्षित भएका छन् । जसका कारण डलर मजबुत बनेको छ भने सुन कमजोर बनेको छ ।
युद्ध अझै लम्बिदै गएमा सुनको मूल्यमा अझै गिरावट हुने उनको अनुमान रहेको छ । यही अनुपातमा सुनमा गिरावट आएमा ४ हजार डलरबाट केही तल झर्ने समेत उनले बताएका छन् ।












प्रतिक्रिया