लगातार दुईदिन उच्च अंकले घटेको सेयर बजारमा दोहोरो अंकको वृद्धि


काठमाडौँ । दुई दिनसम्म लगातार उच्च दरमा घटेको सेयरबजार परिसूचक नेप्से तेस्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको छ । आज नेप्से १९.७० अंकले बढेर २८५१.०९ अंकमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कुल ३३९ कम्पनीका २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयरहरु १ लाख ३७ हजार ८५७ पटक किनबेच हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार नेप्से ४७.७१ अंकले घटेर २८३१.३९ अंकमा पुग्दा कारोबार रकम १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँमा पुगेको थियो ।

मंगलबारको कारोबारमा १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको सेयर मूल्य घट्दा ९ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

मंगलबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रो, रिग्दे लाइन इनर्जी र होटल फरेष्टइन रहेका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा सप्तकोशी डेभलपमेन्ट बैंक पहिलो स्थानमा रहेको छ । मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ९ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा एनआइसी एसिया ब्यालेन्स फण्ड, एनआइबीएल ग्रोथ फण्ड, रिडी पावर कम्पनी र धौलागिरी लघुवित्त रहेका छन् ।

मंगलबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा रिडी पावर कम्पनी रहेको छ । रिडी पावर कम्पनीको ४८ करोड ४८ लाख ४६ हजार रुपैयाँको सेयर किनबेच हुँदा अपी पावर कम्पनी ४० करोड ३८ लाख ९३ हजार रुपैयाँको कारोबार गर्दै दोस्रो स्थानमा छ । तेस्रो स्थानमा एनआरए इन्फ्राइस्टक्चर रहेको छ भने चौथो स्थानमा एसवाई प्यानल र पाँचौ स्थानमा कुमारी बैंक रहेको छ ।

मंगलबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । सोमबार ४८ खर्ब १३ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण मंगलबार ४८ खर्ब ४७ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ३४ अर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार  १५ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।