वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना


जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा आर्थिक गणना हुने भएको छ । आर्थिक गणना कार्यालयका अनुसार गणनाका लागि १७ जना गणक र तीन जना सुपरीवेक्षक परिचालन गरिने छन् ।

आर्थिक गणना कार्यालयका प्रमुख दीपेन्द्रसिंह धामीका अनुसार जिल्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योगसहित विभिन्न प्रतिष्ठानको विस्तृत विवरण सङ्कलन गरिने छ ।

आर्थिक गणना २०७५ को तथ्याङ्कअनुसार जिल्लामा १ हजार ५६९ व्यापारिक प्रतिष्ठान, १ हजार २४६ सेवा प्रतिष्ठान र २६३ उद्योग प्रतिष्ठान सञ्चालनमा छन् । यहाँका आठवटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी १ हजार ५८ उद्योग दर्ता छन् । गुठिचौर गाउँपालिकामा सबैभन्दा कम २१० उद्योग दर्ता छन् ।

यसैगरी, कनकासुन्दरीमा ३७४, तिलामा ३५८, पातारासीमा ३०८, सिँजामा २९२, तातोपानीमा २६७ र हिमामा २११ प्रतिष्ठान रहेको आर्थिक गणना कार्यालय प्रमुख धामीले बताए। यसपटक जुम्लामा वास्तविक र अद्यावधिक आर्थिक अवस्था झल्काउने गरी गणना गरिने जिल्ला आर्थिक गणना कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।