२०८३ सालको पहिलो कारोबार दिन नेप्से ३३ अंकले बढ्यो


काठमाडौँ । वि.सं. २०८३ सालको पहिलो कारोबार दिन बुधबार सेयर बजारमा सुधार आएको छ । आज नेप्से ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा कायम भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार कुल ३४४ कम्पनीका ३ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता सेयरहरु १ लाख २३ हजार ३५९ पटक किनबेच हुँदा १० अर्ब ५३ करोड ७० लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार नेप्से ४.१८ अंकले घटेर २८३३.६ अंकमा पुग्दा कारोबार रकम ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार रुपैयाँमा पुगेको थियो ।

बुधबारको कारोबारमा २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४५ कम्पनीको सेयर मूल्य घट्दा ३ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जसमा रिग्दे लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोपावर, होटल फरेष्ट इन, सिन्धु विकास बैंक र पाल्पा सिमेन्ट इन्डष्ट्रिज रहेका छन् ।

त्यसैगरी, सबैभन्दा धेरै गुमाउने कम्पनीहरुको सूचीमा रिलायन्स स्पिनिङ मिल्स पहिलो स्थानमा रहेको छ । बुधबार रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य ५.६१ प्रतिशतले घटेको छ । त्यसैगरी, धेरै सेयरमूल्य घट्ने कम्पनीहरुमा उपकार लघुवित्त,, सनराइज फण्ड, माइखोला हाइड्रोपावर र सालपा विकास बैंक रहेका छन् ।

बुधबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा शिभम् सिमेन्ट रहेको छ । शिभम् सिमेन्टको ५८ करोड ९ लाख ६३ हजार रुपैयाँको सेयर किनबेच हुँदा नेश्नल हाइड्रोपावर ५७ करोड ११ लाख २२ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ भने चौथो स्थानमा सोलु हाइड्रोपावर र पाँचौ स्थानमा रिडी पावर कम्पनी रहेको छ ।

बुधबार सेयर बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । सोमबार ४८ खर्ब ३२ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण बुधबार ४८ खर्ब ८९ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ५७ अर्ब रुपैयाँले बढेको हो ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार  १५ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।