ज्योति लाइफको आईपीओमा १८ लाख बढी आवेदन, ६.४१ गुणा बढि शेयर माग

0
Shares

ज्योति लाइफ इन्स्योरेन्स को आईपीओमा उच्च आकर्षण देखिएको छ । कम्पनीको आईपीओमा अन्तिम दिन बुधबार साँझसम्ममा १८ लाख ४ हजार ६४८ वटा आवेदन परेको हो । जुन अहिलेसम्मकै सर्वाधिक आवेदन हो ।

कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले उपलब्ध गराएको तथ्याङ्क अनुसार कम्पनीले सर्वसाधारणबाट ५९ लाख ४० हजार कित्ताका लागि आवेदन माग गरेकोमा ६.४१ गुणा बढि शेयरको माग परेको छ ।

आईपीओमा ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार मूल्य बराबरको ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताको लागि माग आवेदन परेको हो । बैंक तथा वित्तीय सस्थाहरुको सि आश्वा प्रणाली मार्फत अझै केही आवेदन आउनेसक्ने भएकाले उल्लेखि तथ्याङ्क प्रारम्भिक मात्र रहेको क्यापिटलले जनाएको छ ।

फागुन २१ गतेदेखि निष्काशनमा आएको इन्स्योरेन्सको आईपीओ निष्काशनबीचमा फागुन २२ गते शनिबार र फागुन २४ गते सोमबार नारी दिवसको सार्वजनिक विदा रहेका लगानीकर्ताले कुल ६ दिन आवेदन समय पाएका थिए ।

ज्योति लाइफले कुल ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गरेकोमा ३ लाख ३० हजार कित्ता र त्यति नै कित्ता म्युचुअल फण्डहरुलाई छुट्याएर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो । आईपीओमा न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो ।

यस आईपीओमा १८ लाखले आवेदन परेपछि ५ लाख ९४ हजार आवेदकले मात्र गोलाप्रथाबाट १० कित्ता पाउने अवस्थामा रहेकाले ३३ प्रतिशत आवेदक (तीन जनामध्ये १ जना) ले मात्र पाउनेछन् ।

इन्स्योरेन्सको उक्त आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । उक्त रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँडपछि इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको आईपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।