दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहित : आर्थिक क्षेत्र चलायमान हुने विश्वास


पोखरा । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ ।

सरकारले बढ्दो व्यापार घाटा र इन्धन खपत नियन्त्रण गर्ने उद्देश्यसहित आइतबार पनि सार्वजनिक बिदा थप गरेपछि मुलुकको पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीहरूमा उत्साह थपिएको छ । सरकारले यसअघि हप्तामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने गरेको थियो ।

दुई दिन बिदा हुँदा एकरात बस्न आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको भन्दै उनीहरुले यो बिदाबाट होमस्टे (घरबास) देखि ठूला होटलसम्म पर्यटक बढ्ने गरेको बताए। यसले आर्थिक क्षेत्र चलायमान बनाउने उनीहरुको भनाइ छ ।

विशेषगरी आन्तरिक पर्यटकमा निर्भर रहेको पोखराको पर्यटन क्षेत्रले लगातार दुई दिन बिदा दिने सरकारको निर्णयलाई व्यवसाय पुनःरुत्थानको रुपमा एउटा बलियो सम्भावनाको रुपमा हेरेको छ । त्यसो त यसअघि पनि सरकारले परीक्षणका रूपमा सातामा दुईदिन बिदा दिने निर्णय गरेको थियो तर त्यसको पूर्ण कार्यान्वयन भने हुन सकेको थिएन् । तर, यसपटकको निर्णयलाई प्रभावकारी रूपमा अघि बढाउन सके पर्यटन क्षेत्रमा गुणात्मक र सकारात्मक परिवर्तन आउने अपेक्षा भने व्यवसायीको छ ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले दुईदिनको बिदाले ‘विकएन्ड ट्राभल’ को संस्कृतिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे। “यसअघि पनि यस्तो घोषणा भयो तर कार्यान्वयनमा समस्या देखियो, अहिलेको सरकारले यसलाई इन्धन खपतमा मात्र केन्द्रित नगरेर पर्यटकीय दृष्टिकोणबाट दीर्घकालीन रूपमा लैजान सके यसले ठूलो सकारात्मक प्रभाव पर्यटनमा पर्नेछ”, उनले भने।

अध्यक्ष सुवेदीले यसअघिको अवस्थामा नियमित दुई दिन बिदा हुँदा अन्य दिनको तुलनामा ५० प्रतिशत पर्यटक बढ्ने गरेको उल्लेखगर्दै आन्तरिक पर्यटकलाई घुमफिरका लागि मिल्दो समयको अभाव हुँदै आएकामा यो बिदाले लाभ मिलेको बताए। उनले भने,“अन्य दिनको तुलनामा बिदाको दिनमा पर्यटक बढ्ने गर्छ, सँगै दुई दिन बिदा हुँदा पक्कै पर्यटक बढ्छ ।”

उनले दसैँ तिहारजस्ता लामो बिदामा पोखराका होटलहरू ९० प्रतिशतसम्म भरिने गरेको अनुभव सुनाउँदै दुईदिने बिदाले घुम्ने संस्कृतिको विकास हुने र साना तथा मझौला होटलहरूलाई समेत राहत पुग्ने बताए। यद्यपि अहिले देखिएको इन्धनको मूल्यवृद्धिले अन्य क्षेत्रमा पनि प्रभाव पार्ने भएकाले यो चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले सहज र सन्तुलित वातावरणको खाँचोसमेत औँल्याए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारापहारीले दुईदिने बिदाको व्यवस्थाले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए। अन्तरराष्ट्रिय अभ्यासको उदाहरण दिँदै उनले भने, “विभिन्न विकसित देशहरूमा ‘विकेन्ड कल्चर’ ले नै पर्यटन क्षेत्रलाई चलायमान बनाएको छ । छोटो समयमै यात्राको योजना बनाउन सहज हुने भएकाले पोखराजस्ता प्राकृतिक र शान्त गन्तव्यमा पर्यटकको चाप बढ्नेछ ।” तत्काल केही समस्या देखिए पनि यो बिदाले पर्यटन क्षेत्रमा दीर्घकालीन रुपमा सकारात्मकता ल्याउने विश्वास उनको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले दुईदिने बिदाको अभ्यासले गण्डकी प्रदेशमा, विशेषगरी पोखरामा सकारात्मक सङ्केतहरू देखिएको बताए ।

उनले भने, “बिदाको प्रभाव देखिँदैछ, पोखरासँगै प्रदेशका अन्य जिल्ला मुस्ताङ, नवलपुर, तनहुँ, पर्वतलगायत आसपासका ग्रामीण पर्यटकीय गाउँहरुमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालिसकेको छ । अब यसको दिगोपनाका लागि सेवाको गुणस्तर सुधार र नयाँ गन्तव्यहरूको प्रवर्द्धन आवश्यक छ ।” उनले पर्यटन बोर्डले निजी क्षेत्रसँग मिलेर ‘विकएन्ड टुरिज्म’ लाई व्यवस्थित बनाउन योजनाहरू बनाइरहेको बताए ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बिदाको निर्णयसँगै पर्यटनमैत्री नीतिको पनि खाँचो रहेको औँल्याए। उनले भने, “बिदाले ‘सर्ट ब्रेक ट्राभल’ को विकास त गर्छ, तर राज्यले केवल बिदा घोषणा गरेर मात्र पुग्दैन । पूर्वाधार विकास, यातायात सहजता र प्रभावकारी प्रचारप्रसारलाई पनि सँगसँगै लैजानुपर्छ । दीर्घकालीन नीतिले मात्र पर्यटनलाई दिगो बनाउँछ ।

प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार  १२ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।