सहकारीका ऋणीलाई साँवा-ब्याज भुक्तानी गर्न १५ दिने अल्टिमेटम


काठमाडौँ । सरकारले सहकारीका ऋणीहरूलाई हर्जानासहित साँवा–ब्याज भुक्तानी गर्न १५ दिने अल्टिमेटम दिएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गरी समस्याग्रस्त घोषित ११ सहकारी संस्थाका सम्बन्धित ऋणीहरूलाई तोकिएको अवधिभित्र बाँकी साँवा, ब्याज तथा हर्जाना बुझाउन निर्देशन दिएको हो ।

समितिले तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा कडा कदम चालिने चेतावनी दिएको छ। त्यसमा ऋणीहरूको नाम–थर सार्वजनिक गर्ने, उनीहरू तथा परिवारका सदस्य र जमानीकर्ताको सम्पत्ति र बैंक खाता रोक्का गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने, साथै सार्वजनिक सेवा–सुविधा समेत बन्द गराउने उल्लेख गरिएको छ।

यसअघि पनि सम्बन्धित सहकारीका सञ्चालक, व्यवस्थापक, कर्मचारी, ऋणी सदस्य तथा जमानीकर्तालाई वेबसाइट, राष्ट्रिय दैनिक पत्रिका, एसएमएस र फोनमार्फत पटक–पटक सूचना दिइएको थियो । तर, पटक पटक सूचना जारी गर्दा समेत अटेर गरेको भन्दै सरकारले अन्तिम मौका दिएको हो ।

त्यस्तै, सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ अनुसार धितो राखिएको सम्पत्ति लिलामी बिक्री गरेर ऋण असुल गर्ने प्रक्रिया अघि बढाइने पनि समितिले जनाएको छ।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।