काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा (४) को प्रयोजनका लागि उनले आफ्नो सम्पत्ति विवरण बुझाएका हुन् ।
डेपुटी गभर्नर पण्डितले पेश गरेको सम्पत्ति विवरणमा साढे ३ करोड रुपैयाँ बराबरको जग्गा खरिद गरेको उल्लेख गरेका छन् ।
श्रीमतीको नाममा रहेको काठमाडौं टोखा नगरपालिकाको प्लट २ करोड २० लाख रुपैयाँमा खरिद गरेको पण्डितले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
उक्त लगानीको स्रोत आफ्नो र श्रीमतीले आम्दानी गरेको तथा केही बैंक ऋण लिएको उल्लेख गरेका छन् । काठमाडौँकै तारकेश्वरमा श्रीमतीको नाममा ६९ लाख रुपैयाँ बराबर तथा कैलालीको धनगढीमा पण्डितको नाममा १० लाख रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख छ ।
त्यसैगरी भाइसँग संयुक्त लगानीमा रुपन्देहीमा ४० लाखको जग्गा पनि रहेको पण्डितको सम्पत्ति विवरण देखिन्छ ।
पारिवारिक सम्पत्तितर्फ बुबा केशरीराज पण्डितका नाममा तनहुँ दमौलीमा ११ रोपनी जग्गा तथा आमाको नाममा काठमाडौँमा ६ आना जग्गा छ ।
आमाकै नाममा सामाखुसीमा साढे दुई तले घर रहेको जनाइएको छ । उक्त सम्पत्ति पैतृक स्रोतबाट प्राप्त भएको जनाइएको विवरणमा उल्लेख छ ।
डेपुटी गभर्नर पण्डितसँग २० तोला सुन, २ सय ५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा छ । विवाह, पास्नी तथा निजी आर्जनबाट उक्त सम्पत्ति प्राप्त भएको विवरणमा उल्लेख छ ।पण्डितको घरजग्गा, नगद मौज्दात, सुनचाँदी र सेयर लगानी गरेको देखिन्छ।
पण्डितको सम्पत्ति विवरणमा बैंक मौज्दात २ करोडभन्दा माथि रहेको उल्लेख गरिएको छ । उनको नेपाल राष्ट्र बैंकको खातामा १ करोड १ लाख २६ हजार रुपैयाँ र अर्को एक वाणिज्य बैंकको खातामा १ करोड ११ लाख ८ हजार रुपैयाँ मौज्दात रहेको छ । कर्मचारी सञ्चय कोषमा २४ हजार, नागरिक लगानी कोषमा २३ हजार २८० रुपैयाँ र एक वाणिज्य बैंकमा ७ हजार ८५६ अमेरिकी डलर रहेको उल्लेख गरेका छन् ।
श्रीमती कामना शर्मा पण्डितको नाममा ५ लाख ७६ हजार नेपाली रुपैयाँका साथै ३३ हजार ५७९ अमेरिकी डलर समेत बचत रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । यो रकम पारिश्रमिक, बचत र पेन्सन कोषबाट प्राप्त भएको उल्लेख गरिएको छ । छोरा अभ्युदय पण्डितको बैंक खातामा ५ लाख ७६ हजार ६२३ रुपैयाँ र छोरी आयिका पण्डितको बैंक खातामा ४ लाख ४६ हजार ४०८ रुपैयाँ रहेको छ ।
डेपुटी गभर्नर पण्डितले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार पण्डित परिवारसँग २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ मूल्यमा खरिद गरिएको हीराको औँठी र टप रहेको छ । यी धातुहरू दाइजो, उपहार र निजी आर्जनबाट प्राप्त भएको जनाइएको छ ।
डेपुटी गभर्नर पण्डितको विभिन्न बैंक, जलविद्युत कम्पनी र बीमा कम्पनीहरूमा आईपीओ भरेको हजारौं कित्ता सेयर लगानी रहेको छ । बैंक, जलविद्युत र बीमा कम्पनीमा गरी ५ हजार ७ सय कित्ताभन्दा बढी सेयर आफ्नो नाममा रहेको छ । बैंक तथा वित्तीय संस्थाको २ हजार ९४८ कित्ता, जलविद्युत कम्पनीको ३६०६ कित्ता र बीमा कम्पनीको ३६ कित्ता सेयर रहेको छ ।
श्रीमती कामना शर्मा पण्डितको नाममा बैंक तथा वित्तीय संस्थाको ५११ कित्ता र बीमाको १२ कित्ता सेयर छ । छोरा अभ्युदय पण्डितको नाममा बैंक तथा वित्तीय संस्थाको २२० कित्ता सेयर र बीमा कम्पनीको १२ कित्ता सेयर छ ।
सवारी साधनतर्फ पण्डितको नाममा एउटा मोटरसाइकल छ भने श्रीमतीको नाममा दुईवटा मोटरसाइकल र २४ लाख रुपैयाँमा खरिद गरिएको महिन्द्राको विद्युतीय गाडी छ ।
उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार नेपाल राष्ट्र बैंकबाट २ करोड ३० लाख २५ हजार रुपैयाँ ऋण लिएकोमा १ करोड २१ लाख ५९ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यस्तै, सिटिजन्स बैंकबाट पनि उनले १ करोड ३ लाख रुपैयाँ ऋण लिएकोमा सन् २०१९ मै सावाँ तथा ब्याज भुक्तानी गरीसकेको र कुल १ करोड २८ लाख ५ हजार रुपैयाँ भुक्तानी गरिसकेको सम्पती विवरणमा उल्लेख छ।
पण्डितले आफ्नो सम्पत्तिको मुख्य स्रोतमा पारिश्रमिक, भत्ता, अध्यापन, श्रीमतीको आय, घरजग्गा बिक्री र पैतृक सम्पत्तिलाई उल्लेख गरेका छन् । यस्तै, हजुरबुबाबाट प्राप्त ७ लाख ३२ हजार ९१९ रुपैयाँ पनि उनले आम्दानीको रूपमा देखाएका छन् ।
डेपुटी गभर्नरमा नियुक्ति भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ । यसै अनुसार उनले बुझाएको विवरण राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको हो ।












प्रतिक्रिया