काठमाडौँ । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका निम्ति आवेदन खुलेको छ । अर्थ मन्त्रालयले मंगलबार सूचना जारी गर्दै बोर्डको रिक्त अध्यक्ष पदपूर्तिका निम्ति आवेदन माग गरेको हो ।
सूचनामा इच्छुक व्यक्तिहरूले बैशाख २१ गतेसम्म व्यक्तिगत विवरण पेस गर्न भनिएको छ । धितोपत्र बोर्डको अध्यक्ष पद गत वैशाख ४ गतेदेखि खाली छ । तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि यो पद रिक्त रहेको हो ।
सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा समिति गठन गरेको छ । प्राप्त आवेदनहरूको अध्ययन, मूल्यांकन र छलफलपछि सिफारिस समितिले तीन उमेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ । त्यसपछि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गरी धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्ने छ ।
बोर्डको अध्यक्षका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्नेछ ।
त्यस्तै ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचारजन्य, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागु औषध कारोबार लगायतका फौजदारी कसुर पाएका व्यक्ति अध्यक्ष पदका लागि अयोग्य हुने छन् ।












प्रतिक्रिया