निजी क्षेत्रको भूमिकालाई सशक्त बनाउन आवश्यक छ : चन्द्रप्रसाद ढकाल


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मध्यपूर्वमा देखिएको संकटले नेपाललाई पाठ सिकाएको बताएका छन् । महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा ढकालले उक्त संकटले नेपाललाई पाठ सिकाएको बताउँदै नेपालको अर्थतन्त्र ठूलो बनाउनुपर्नेमा जोड दिए ।

इन्धनमा भएको भारी वृद्धिले लागत बढाउँदै लगेको बताउँदै उनले आन्दोलन लम्बिदै गएमा रेमिट्यान्समा प्रभाव परि अर्थतन्त्र नै संकटमा पर्ने चेतावनी दिए ।

यस्तै, ढकालले मुलुकको आर्थिक रूपान्तरणमा निजी क्षेत्रको भूमिकालाई अझ सशक्त बनाउने आवश्यकता औँल्याएका छन् ।

उद्घाटन मन्तव्य दिँदै अध्यक्ष ढकालले महासंघको ६० वर्षको यात्रा केवल समयको गणना नभई नेपालको आर्थिक इतिहासमा संघर्ष, सहकार्य र दृढ संकल्पका महत्वपूर्ण अध्याय भएको बताए। उनले महासंघले विगतका राजनीतिक अस्थिरता, दैवी प्रकोप तथा आन्तरिक–बाह्य आर्थिक चुनौतीबीच पनि निजी क्षेत्रको आवाजलाई मजबुत बनाउँदै उद्योग, व्यापार र लगानीको वातावरण निर्माणमा निरन्तर योगदान पुर्‍याएको उल्लेख गरे।

अध्यक्ष ढकालले हाल गठन भएको झण्डै दुई तिहाइ बहुमतको स्थायी सरकारलाई आर्थिक सुधार र नीतिगत स्थायित्वका लागि महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न आग्रह गरे। उनले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट निजी क्षेत्र प्रवर्द्धन तथा संरक्षण रणनीति लागू गर्ने निर्णय स्वागतयोग्य भएको बताउँदै यसले व्यवसायीको मनोबल बढाउने विश्वास व्यक्त गरे।

उनले विगतका आन्दोलनहरूमा निजी क्षेत्र प्रभावित भएको सन्दर्भ उल्लेख गर्दै यस्तो रणनीतिले व्यवसायीलाई भौतिक मात्र नभई नीतिगत सुरक्षाको प्रत्याभूति दिने बताए। साथै, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिस कार्यान्वयनमार्फत दोस्रो चरणको आर्थिक सुधार अघि बढाउनुपर्नेमा जोड दिए ।

ढकालले नेपालमा युवाशक्ति प्रचुर मात्रामा रहेको र छिमेकी मुलुकहरू भारत र चीन सँगको विशाल बजार अवसरलाई सदुपयोग गर्नुपर्ने धारणा राखे। उनले देशभित्रै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना नगरेसम्म आर्थिक समृद्धि सम्भव नहुने चेतावनी दिए ।

उनले भने, ‘निजी क्षेत्र अगाडि बढेपछि भारतमा प्रति बर्ष डेढ प्रतिशतका दरले गरिबी घटिरहेको छ । बीस बर्षमा करिब ५० करोड नागरिक गरिबीको रेखाबाट माथि उठेका छन् । हामीसंगै एकैपटक विश्व व्यापार संगठनको सदस्य भएको क्याम्बोडियामा प्रत्यक्ष वैदेशिक लगानी नेपालभन्दा दश गुणा बढि भित्रिने गरेको छ । यदि यी देशले सक्छन भने हामी किन सक्दैनौ ।’

उनका अनुसार हरेक वर्ष करिब पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने र ठूलो संख्या विदेशिने अवस्थालाई रोक्न निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक छ।

अध्यक्ष ढकालले नेपालको आर्थिक प्रगतिलाई तीव्र बनाउन नीतिगत सुधार, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सम्मान आवश्यक रहेको उल्लेख गर्दै सबै पक्षबीच सहकार्यबाट समृद्ध नेपाल निर्माण सम्भव रहेको निष्कर्ष व्यक्त गरे।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार  १३ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।