काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्मार्ट टेलिकमको सम्पत्ति बेइमानीपूर्वक हिनामिना गरेको आरोपमा सर्बेश जोशीलाई पक्राउ गरेको छ ।
ब्यूरोले ४५ वर्षीय जोशीलाई सोमबार काठमाडौंको खुर्सानीटारबाट नियन्त्रणमा लिएको हो । स्मार्ट टेलिकम प्रा लिले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम २०८० वैशाख ३ गतेदेखि यसको अनुमतिपत्र स्वतः रद्द भएको थियो।
अनुमतिपत्र रद्द भएपछि ‘दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९’ को नियम १८ बमोजिम कम्पनीको सम्पूर्ण सम्पत्ति, भौतिक पूर्वाधार, संरचना र सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो।
जोशीमाथि सरकारी नियन्त्रणमा रहेको उक्त सम्पत्ति र संरचनालाई बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यले काम गरी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप लागेको छ। काठमाडौँ महानगरपालिका वडा नं. २, खुर्सानीटार बस्ने जोशीलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई नियन्त्रणमा लिइएको हो ।
सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) शिव कुमार श्रेष्ठका अनुसार, यसरी पूर्ण रूपमा नेपाल सरकारको नियन्त्रणमा आइसकेको सम्पत्तिमा बेइमानीपूर्वक सरकारको हक टुट्ने (गुम्ने) उद्देश्यका साथ कार्य गरेको पाइएपछि जोशीलाई पक्राउ गरिएको हो । पक्राउ परेका जोशीमाथि हाल सीआईबीले ठगी तथा आपराधिक विश्वासघात कसुरमा थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया