ज्योति लाइफको आईपीओ आगामी शुक्रबार मात्रै बाँडफाँड, ३ मध्ये एक जनाले मात्र पाउने

0
Shares

ज्योति लाइफको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिएका ३ जनामध्ये एक जनाले मात्र शेयर पाउने भएका छन् ।  धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम बाँडफाँड गर्दा उच्च आवेदनका कारण एक तिहाइ लगानीकर्ताले मात्र शेयर पाउने अवस्था आएको हो ।

ज्योति लाइफले कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।

निर्देशिका बमोजिम बाँडफाँड गर्दा इन्स्योरेन्सको शेयर भाग्यमानी ५ लाख ९४ हजार जना आवेदनले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गर्नेछन् । जुन कम्पनीको आइपीओमा परेको कुल संख्याको (३२.२४ प्रतिशत) मात्र हो । आवेदकमध्ये ६७.७६ प्रतिशत अर्थात १२ लाख ४८ हजार ४९६ जनाको हात खाली हुनेछ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हरेक आवेदकलाई न्यूनतम १० कित्ता शेयर बाँडफाँड गर्नुपर्ने र अपुग भएको खण्डमा निष्काशित शेयर संख्यालाई दशले भाग गरेर पुग्ने जति आवेदकलाई गोलाप्रथाबाट बाँडफाँड गरिने व्यवस्था छ ।

इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ज्योति लाइफको आईपीओमा यसअघिको सबै रेकर्ड ब्रेक हुँदै सर्वसाधारणबाट १८ लाख ४२ हजार ४९६ वटा आवेदन परेको थियो । आईपीओमा सर्वसाधारणबाट माग गरिएको भन्दा ६.४१ गुणा बढी अर्थात तीन करोड ८० लाख कित्ताका लागि आवेदन परेको छ । जबकी कम्पनीले ५९ लाख ४० हजार कित्ताका लागि मात्र आवेदन मागेको थियो ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यस साता रुरु हाइड्रोले गुल्मीका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गर्नुपर्ने भएपछि ज्योति लाइफको शेयर बाँडफाँड एक साता पछि आगामी शुक्रबार (चैत १३) मात्र हुने भएको छ । रुरु जलविद्युत परियोजनाले फागुन ७ गतेदेखि २१ गतेसम्म गुल्मीका स्थानीय बासिन्दाका लागि जारी गरेकाले ज्योति लाइफले सोभन्दा पछि शेयर निष्काशन गरेकाले ज्योति लाइफको शेयर बाँडफाँड एक साता पछि सरेको हो ।

नेपाल धितोपत्र बोर्डको पछिल्लो समय मेरो शेयर सफ्टवेयरमा पर्ने अधिक चाप नियन्त्रणका लागि भन्दै शेयर निष्काशन र बाँडफाँड शुक्रबार मात्र गर्न मातहातका निकायलाई निर्देशन दिएको अवस्था छ ।

ज्योति लाइफको अधिकृत पूँजी तीन अर्ब, जारी पूँजी दुई अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड छ । सर्वसाधारणलाई आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड पुग्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ६ चैत्र २०७७, शुक्रबार  १० : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।