कर प्रशासन पुनःसंरचना र भ्याट प्रणाली सुधार गर्न अर्थविद्को सुझाव


काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा अर्थविद्हरूले कर प्रशासनको पुनःसंरचना, सार्वजनिक वित्त व्यवस्थापन सुधार तथा मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा बोल्दै अर्थविद् डा डिल्लीराज खनालले आर्थिक नीति र बजेटबीच स्पष्ट सम्बन्ध हुनुपर्ने बताउँदै आर्थिक पुनःसंरचनालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । उनले विगतदेखि उठाइँदै आएका नीति सुधारका विषयहरूलाई बजेटका सिद्धान्त र प्राथमिकतासँग जोडेर लैजान आवश्यक रहेको उल्लेख गरे ।

अर्थविद् खनालले नेपालको सन्दर्भमा आर्थिक संरचनागत सुधार र सुशासनलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए। उनले अर्थतन्त्रका प्राथमिक क्षेत्र पहिचान गरी दीर्घकालीन पुनःसंरचनाको रणनीति तयार गर्नुपर्नेमा जोड दिए।

अर्का विज्ञ दीर्घराज मैनालीले कर प्रशासनको विद्यमान संरचनामा व्यापक सुधार आवश्यक रहेको बताए। उनले विगत लामो समयदेखि कर प्रशासन प्रणालीमा संरचनागत समस्या रहेको उल्लेख गर्दै त्यसलाई व्यावसायिक र प्रभावकारी बनाउन पुनःगठन गर्नुपर्ने सुझाव दिए।

मैनालीले कर प्रशासन सञ्चालन गर्ने निकायलाई थप व्यावसायिक बनाउने उद्देश्यले संस्थागत पुनःसंरचना आवश्यक रहेको उल्लेख गरे । उनले हाल केही सुधारका प्रयास भए पनि त्यसले अपेक्षित परिणाम दिन लामो समय लाग्ने भएकाले व्यापक संरचनागत सुधार आवश्यक रहेको धारणा राखे ।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।