ओभरटाइममा कर्मचारीलाई बाध्य नपार्न राष्ट्र बैंकको निर्देशन


काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारीहरूलाई ओभरटाइमका लागि बाध्य नपार्न निर्देशन दिएको छ ।

केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको कामको समय र अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा कडाइ गर्दै नयाँ व्यवस्था लागू गरेको हो ।

शुक्रबार एकीकृत निर्देशन २०८२ संशोधन गर्दै केन्द्रीय बैंकले अब कर्मचारीलाई कार्यालय समयभन्दा बाहिर काममा लगाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने र बाध्य पार्न नपाइने स्पष्ट निर्देशन दिएको छ। यदि कुनै कर्मचारी ओभरटाइम काम गर्न तयार हुन्छ भने यसबापत थप पारिश्रमिक प्रदान गर्न राष्ट्र बैंकले भनेको हो ।

उक्त व्यवस्थासँगै अब बैंक तथा वित्तीय संस्थाले अब सेवा विस्तार, सिस्टम अपडेट, क्लोजिङ, वा डिजिटल बैंकिङ अपरेसनका नाममा कर्मचारीलाई अनिवार्य रूपमा ढिलोसम्म राख्न नपाउने भएका छन्। यदि आवश्यक परे पनि श्रम कानुनअनुसार ओभरटाइम भुक्तानी दिनुपर्नेछ।

विशेषगरी महिनाको अन्त्य, अडिट अवधि, सिस्टम माइग्रेसन वा आर्थिक वर्षको क्लोजिङ समयमा कर्मचारीहरू अत्यधिक दबाबमा काम गर्न बाध्य हुने गुनासो रहँदै आएको थियो।

यस्तै , राष्ट्र बैंकले बैंक बिदाको सूचीका अतिरिक्त नेपाल सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत अत्यावश्यक बैंकिंग सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशन नं. २१ मा बुँदा नं. २३ थप गरी अतिरिक्त कार्यालयसम्बन्धी व्यवस्था थप गरेको हो। यसअघि यी व्यवस्थाहरु रहेका थिएनन्।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार  ०८ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।