चालु आवमा १२ प्रतिशतले बढ्यो उद्योग दर्ता


काठमाडौँ । मुलुकमा उद्योग दर्ता करिब १२ प्रतिशतले बढेको छ । वि.सं. २०८१ फागुनसम्म नौ हजार ९६३ उद्योग दर्ता भएकामा २०८२ को सोही अवधिमा ११ हजार १४० वटा उद्योग दर्ता भएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२र८३ को आर्थिक सर्वेक्षणअनुसार ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १३.९, २० र ६६.१ प्रतिशत रहेको छ ।

२०८२ असारसम्म उद्योग विभागमा दर्ता भएको उद्योगको स्वीकृत लगानी ३३ खर्ब ३७ अर्ब ८० करोड रहेकामा चालु आवको फागुनसम्म तीन खर्ब ८९ अर्ब ७४ करोड थप लगानी स्वीकृत भएको छ । सो अवधिसम्म ३७ खर्ब २७ अर्ब ५४ करोड उद्योगका लागि लगानी स्वीकृत भएको छ ।
चालु आवको फागुन मसान्तसम्म ९२१ नयाँ उद्योग दर्ता भएका छन् । यस्ता उद्योगको सञ्चालनबाट ३९ हजार ५४६ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।

गत आवको सोही अवधिमा ४३८ उद्योगको रु एक खर्ब ७१ अर्ब ३६ करोड लगानी स्वीकृत भई २३ हजार ६४ प्रत्यक्ष रोजगारी सिर्जना हुने अनुमान थियो ।

गत फागुनसम्म दर्ता भएका उद्योगको सङ्ख्याका आधारमा सबैभन्दा बढी हिस्सा उत्पादनमुलक उद्योगको रहेको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार  १७ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।