युक्रेन युद्धपछि रुससँगको सम्बन्धलाई लिएर सावधानी अपनाइरहेका दक्षिणपूर्वी एसियाली राष्ट्रहरूले अब राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष उच्चस्तरीय संवादको तयारी गरेका छन् । जुन १७–१८ मा रुसको कजानमा हुने आसियान–रुस शिखर सम्मेलनमा क्षेत्रीय नेताहरूको सहभागिता हुने भएको छ ।
फिलिपिन्सकी विदेशमन्त्री थेरेसा लाजारोले सामाजिक सञ्जाल एक्समार्फत आफूले रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग टेलिफोन संवाद गरेको जानकारी दिइन्। छलफलको केन्द्रमा कजानमा हुने आसियान–रुस शिखर सम्मेलन रहेको उनले बताइन्।
मनिलास्थित रुसी दूतावासका अनुसार लाजारो र लाभरोभबीच आसियानसँग रुसको ‘रणनीतिक साझेदारी विस्तार’ गर्ने सम्भावनाबारे पनि विचारविमर्श भएको छ ।
आसियानमा फिलिपिन्ससहित ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यान्मा, सिङ्गापुर, थाइल्यान्ड, भियतनाम र पूर्वी टिमोर आबद्ध छन् । युक्रेनमाथि सन् २०२२ मा रुसले आक्रमण गरेपछि अधिकांश सदस्य राष्ट्रहरूले संयुक्त राष्ट्र महासभामा मस्कोविरुद्धको प्रस्तावलाई समर्थन गरेका थिए । त्यसका बाबजुद आसियानले रुसलाई ‘संवाद साझेदार’ का रूपमा कायम राख्दै आएको छ ।
आसियानभित्र रुस र पश्चिमप्रतिको दृष्टिकोण भने एकरूप छैन । फिलिपिन्सजस्ता केही सदस्य अमेरिका नजिक मानिन्छन् भने अन्य राष्ट्रहरूको चीन र रुससँग गहिरो व्यापारिक तथा सुरक्षा सम्बन्ध छ । भियतनाम र लाओसले युक्रेनसम्बन्धी संयुक्त राष्ट्र प्रस्तावमा मतदान नगरी तटस्थता अपनाएका थिए ।
ऊर्जा सुरक्षाले पनि रुस–आसियान सम्बन्धलाई नयाँ आयाम दिएको देखिएको छ । फिलिपिन्स, इन्डोनेसिया, थाइल्यान्ड र भियतनामलगायत केही सदस्य राष्ट्रहरूले विश्वव्यापी इन्धन मूल्य वृद्धिपछि रुसी कच्चा तेल खरिद वा आयातमा रुचि देखाएका छन् ।










प्रतिक्रिया