बजेट घोषणाको प्रतिक्षामा रहेका लगानीकर्ता पूँजीगत लाभकरले निराश, साताभर २६.६९ अंकले घट्यो नेप्से



काठमाडौँ । बजेट घोषणाको प्रतिक्षामा रहेका लगानीकर्तामा पूँजीगत लाभकरले झन निराशा थपेको छ । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटले पूँजीगत लाभकरको दर बढाउँदा लगानीकर्तामा निराशा देखिएको संकेत बजारले गरेको छ । बजेट घोषणापछिको कारोबार साताभर सेयर बजार परिसुचक (नेप्से) २६.६९ अंकले घटेर २७५५.४१ विन्दुमा पुगेको हो ।

गत शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले सङघीय संसदमा आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै पूँजीगत लाभकर साढे २ प्रतिशत विन्दुले बढाएर अल्पकालीनका लागि १० प्रतिशत र दीर्घकालीनका लागि साढे ७ प्रतिशत कायम गरेको बताएका थिए । त्यस्तै पूँजीगत लाभकरलाई अन्तिम भनिए पनि आर्थिक विधेयकले वार्षिक ४० लाखमाथिको आम्दानी गर्नेका हकमा अन्तिम नभएको आशय उल्लेख गरेको छ । जसका कारण लगानीकर्ताको मनोबल कमजोर भएको जानकारहरूको भनाई छ ।

बजेट घोषणापछि पहिलो कारोबार दिन सोमबार नेप्से २६.८२ अंकले घटेर २७५५.३७ विन्दुमा कायम भएको थियो । सोमबार ३४९ कम्पनीको १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयरहरू ६३ हजार ७१९ पटक किनबेच हुँदा ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार भने नेप्से दोहोरो अंकले बढेको थियो । मंगलबार नेप्से २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेको थियो । मंगलबार ३४६ कम्पनीका १ करोड १३ लाख ८५ हजार १०० कित्ता सेयरहरू ६१ हजार ५२७ पटक किनबेच हुँदा ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार रुपैयाँको कारोबार भएको थियो ।

बुधबार पनि नेप्से २.६६ अंकले बढेर २७८०.२५ विन्दुमा पुगेको थियो । बुधबार ३४७ कम्पनीका १ करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयरहरू ६२ हजार १४८ पटक किनबेच हुँदा ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार भने नेप्से १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा झरेको थियो । बिहीबार ३५३ कम्पनीका १ करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयरहरू ५१ हजार ६०१ पटक किनबेच हुँदा ४ अर्ब ७० करोड ३३ लाख २६ हजार रुपैयाँको कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेप्से ११.३७ अंकले घटेर २७५५.४१ विन्दुमा कायम भई यो साताको लागि कारोबार बन्द भएको छ । शुक्रबार ३५१ कम्पनीका १ करोड २७ लाख ३२ हजार ८६८ कित्ता सेयरहरू ५५ हजार ४६७ पटक किनबेच हुँदा ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ ।

साताभरमा कुन कम्पनीको सेयरमा देखियो वृद्धि ?

यो साता सेयर बजारमा सबैभन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीमा कालिन्चोक हाइड्रोपावर रहेको छ । साताको दोस्रो कारोबार दिन मंगलबारदेखि लगातार ४ दिन कालिन्चोक हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको थियो । त्यस्तै, सोमबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

साताभरिमा कुुन कम्पनीको सेयर मूल्यमा देखियो गिरावट

सातामा सबैभन्दा धेरै (सोमबार) बुङ्गल हाइड्रोपावरको सेयर मूल्य १३.२० प्रतिशतले घटेको थियो । त्यस्तै, मंगलबार नबिल डेभेन्चरको इकाई मूल्य ४.५९ प्रतिशतले घटेको थियो भने बुधबार नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्य ५.१८ प्रतिशतले घटेको थियो । बिहीबार एसबिएल डेभेन्चरको इकाई मूल्य १०.४८ प्रतिशतले घट्दा शुक्रबार होटल फरेष्ट इनको सेयर मूल्य ४.२२ प्रतिशतले घटेको छ ।

सातामा कुन कम्पनीको बढी सेयर कारोबार भयो ?

यो साता सबैभन्दा धेरै आँखुखोला जलविद्युत आयोजनाको सेयर कारोबार भएको छ । साताको पहिलो कारोबार दिन सोमबार आँखुखोला जलविद्युतको ४३ करोड ४ लाख ५१ हजार रुपैयाँको कारोबार भएको थियो भने मंगलबार ४६ करोड ७६ लाख ५८ हजार रुपैयाँ, बुधबार ४४ करोड २३ लाख ७ हजार रुपैयाँको, बिहीबार ३२ करोड ५ लाख ६४ हजार रुपैयाँको र शुक्रबार ५५ करोड ६९ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ । त्यसैगरी सोमबार ३७ करोड १३ लाख ५ हजार रुपैयाँको कारोबार भएको नेपाल रिइन्स्योरेन्सको मंगलबार २६ करोड ७८ लाख ७० हजार रुपैयाँको, बुधबार १५ करोड १७ लाख २५ हजार रुपैयाँको र बिहीबार १७ करोड १९ लाख ८९ हजार रुपैयाँको कारोबार भएको थियो ।

कुन दिन कति कायम भयो बजार पूँजीकरण ?

गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको बजार पुँजीकरण यो साता ४७ खर्ब १ अर्बमा सीमित रहेको छ । बजार घटेसँगै बजार पुँजीकरणमा पनि गिरावट आएको छ ।

साताको पहिलो कारोबार दिन सोमबार ४७ खर्ब १ अर्ब रुपैया कायम भएको बजार पुँजीकरण मंगलबार ४७ खर्ब ३९ अर्ब रुपैया पुगेको थियो । त्यस्तै, बुधबार ४७ खर्ब ४३ अर्ब रुपैयाँ, बिहीबार ४७ खर्ब २० अर्ब रुपैयाँ कायम भएको बजार पूँजीकरण शुक्रबार ४७ खर्ब १ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार  ११ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।