विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्च २ गुणा बढी


काठमाडौँ । नेपाल घुम्न आउने विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेश जाँदा गर्ने खर्च दुईगुणाभन्दा बढी रहेको छ । नेपालमा घुम्न आउने पर्यटकले जति रकम नेपालमा खर्च गरेका छन् विदेश जाँदा नेपालीले त्यसको २.३९ गुणा बढी रकम खर्च गरेको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकले प्रष्ट पारेको छ ।

बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना (साउन–बैशाख) मा विदेशी पर्यटकले नेपालमा ७४ अर्ब १८ करोड रुपैयाँ खर्च गरेका छन् । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधीको तुलनामा २.२ प्रतिशतले कम हो ।

अघिल्लो आर्थिक वर्षको १० महिनामा नेपाल घुम्न आउने पर्यटकले ७५ अर्ब ८३ करोड रुपैयाँ खर्च गरेको बैंकको तथ्यांकले देखाएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा नेपाली विदेश घुम्न जाँदा देशबाट १ खर्ब ७७ अर्ब ८७ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधीको तुलनामा नेपाली विदेश जाँदा बाहिरिने रकम ३.४ प्रतिशतले कमी आएको छ ।

अघिल्लो आर्थिक वर्षको १० महिनामा नेपाली विदेश जाँदा १ खर्ब ८४ अर्ब २२ करोड रुपैयाँ देशबाट बाहिरिएको थियो ।

केन्द्रिय बैंकका अनुसार, विदेश जाने नेपालीमध्ये अध्ययनको लागि विदेश जाने विद्यार्थीमार्फत सबैभन्दा ठूलो रकम देशबाट बाहिरिने गरेको छ । चालु आर्थिक वर्षको १० महिनामा विदेश पढ्न जाने नेपाली विद्यार्थीसँगै १ खर्ब २० अर्ब ५० करोड रुपैयाँ मुलुकबाट बाहिरिएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम एक खर्ब १२ अर्ब ३९ करोड रुपैयाँ बाहिरीएको थियो ।

त्यस्तै, व्यवसायिक भिसामा विदेश जाने नेपालीहरुले १ अर्ब ४२ करोड रुपैयाँ खर्च गर्दा विदेशीहरुले नेपालमा ३ करोड ५ लाख रुपैयाँ मात्र खर्च गरेका छन् ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार  १४ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।