काठमाडौँ । गुणस्तर परीक्षणको बाहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण रोकिएको चिया निर्यात फेरि सुरु भएको छ । झन्डै २ महिनाको अवरोधपछि नेपाली चिया भारततर्फ निकासी हुन थालेको हो ।
सरकारको उच्च तहबाट भएको निरन्तरको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण प्रणालीमा खुकुलो मापदण्ड (एसओपी) लागु गरेसँगै पूर्वी नाका काँकडभिट्टा हुँदै चियाका गाडीहरू भारततर्फ जान थालेका हुन् ।
सोमबारदेखि ३/४ वटा गाडी काँकडभिट्टाबाट भारततर्फ गएको नेपाल चिया उत्पादक संघका उपाध्यक्ष शिवकुमार गुप्ताले बताए । ‘पहिले भारतले सत प्रतिशत नमुना नै परीक्षण गर्ने भनेको थियो ।’ उनले भने, ‘अहिले भने त्यसलाई २० प्रतिशत ¥यान्डम स्याम्पल परीक्षण गर्ने कुरा भएको छ ।’
उनका अनुसार, भारतले चियाको गुणस्तर परीक्षण प्रणाली परिमार्जन गरेसँगै अब नेपालबाट जाने २० प्रतिशत चियाको मात्रै नमुना परीक्षण (स्याम्पल टेस्ट) हुने भएको छ । जुन १६ मा भारतका वाणिज्य सचिवको अध्यक्षतामा बसेको बैठकको निर्णयलाई आधार मान्दै एफएसएसएआईले जुन २३ मा यससम्बन्धी नयाँ सर्कुलर जारी गरेको थियो ।
नयाँ व्यवस्थाअनुसार भारतमा आन्तरिक खपतका लागि आयात हुने चिया (एचएसएन कोड ०९०२) मा अब ‘जोखिममा आधारित परीक्षण प्रणाली’ लागु हुनेछ । यसअन्तर्गत नेपालबाट जाने ५ वटा गाडी (खेप) मध्ये एउटालाई मात्र छड्के (¥यान्डम) जाँचका लागि रोकिने छ ।
गत बैशाख १८ गतेदेखि नयाँ एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षण प्रतिवेदनको व्यवस्था गरेपछि नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्ण रूपमा रोकिएको थियो ।
पहिलो चरणमा भातरले नेपालबाट भारत छिर्ने चियाको प्रत्येक ट्रक र प्रत्येक पटकको छुट्टाछुट्टै प्रयोगशाला परीक्षण अनिवार्य गरेको थियो । पहिले एउटा नमुना परीक्षण रिपोर्टले १५ दिनसम्म वा १० वटा ट्रकलाई मान्यता दिने गरिएकोमा पछिल्लो नियमले ट्रकपिच्छे ११ हजार १२० भारु शुल्क तिरेर नमुना परीक्षण गर्नुपर्ने र त्यसको रिपोर्ट आउन कम्तीमा दुई साता कुर्नुपर्ने झन्झटिलो प्रावधान राखिएको थियो ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहत रहेको ‘टी बोर्ड अफ इन्डिया’ ले चियामा गर्दै आएको अनिवार्य परीक्षणको व्यवस्थालाई फिर्ता लिएपछि करिब दुई साता पछि जेठ ६ गतेदेखि नेपाली चियाको निकासी पुनः सहज भएको थियो ।
निर्यातमा केही खुकुलो बनाएको भनिएता पनि आयातकर्ताको गोदाममै प्रवेश गरी प्रत्येक बोराको नमुना संकलन गर्न थालेपछि भारतीय आयातकर्ताले चिया आयातको लागि फाराम भर्न नै छाडेका थिए ।
आधा दर्जनभन्दा बढी ट्रकको नमुना संकलन गरिएको एक साता बितिसक्दा पनि प्रयोगशालाको प्रतिवेदन नआउँदा बिक्री ठप्प भएको थियो ।
यद्यपि निर्यातको अधिकांश हिस्सा भारतमै केन्द्रित भएकाले भारतीय बजारमा देखिएको अवरोधले नेपाली चिया उद्योगलाई प्रत्यक्ष असर गरेको थियो ।










प्रतिक्रिया