काठमाडौँ । प्रभु बैंकले पूर्व अर्थ सहायक मन्त्री रुप ज्योतिका दुई कम्पनीको धितोमा रहेको सम्पत्ति लिलाम गर्ने भएको छ । हुने भएको छ ।
बैंकले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै ज्योति ग्रुपका दुई कम्पनी नर्थ फेस होटल र नेपाल जनरल मार्केटिङ्ग प्रालिको नाममा रहेको चल-अचल सम्पत्ति लिलाम गर्ने जनाएको हो । रुप ज्योति ज्योति ग्रुपका अध्यक्ष हुन् ।
बैंकले यसअघि पटक-पटक मौखिक तथा लिखित ताकेता गराएतापनि कर्जा तिर्न आनाकानी गरेपछि अन्तिम पटक ७ दिने सूचना जारी गरेको हो ।
बैंकका अनुसार, लिलामीमा राखिएको पहिलो कम्पनी नर्थ फेस होटल प्रालि रहेको छ, जसको सञ्चालक तथा जमानतकर्ता उद्योगी तथा पूर्वमन्त्री रुप ज्योति रहेका छन् । यस कम्पनीको धितो स्वरूप काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा अवस्थित विभिन्न कित्ताका एक दर्जनभन्दा बढी जग्गाहरू र सो जग्गाले चर्चेको सम्पूर्ण संरचनाहरू लिलाम गरिँदैछ । बैंकले यी सम्पत्तिहरू ‘जे जस्तो अवस्थामा छ, सोही अवस्थामा’ बिक्री गर्ने स्पष्ट पारेको छ ।
त्यसैगरी, दोस्रो कम्पनी ‘नेपाल जनरल मार्केटिङ प्रालि’ को नाममा रहेको ठुलो परिमाणको सम्पत्ति पनि लिलामीमा गर्ने भएको छ ।
यो कम्पनीको धितोमा ललितपुरको वडा ६ मा रहेको घरजग्गा, पर्सा जिल्लाको चोर्नीमा रहेको ठुलो क्षेत्रफलको जग्गा, काठमाडौंको डिल्लीबजारमा रहेका विभिन्न कित्ताका जग्गा तथा भवनहरू र कलंकीमा रहेको घरजग्गा रहेकाे छ । साथै, कम्पनीको मौज्दात र चालु सम्पत्तिहरू उपर रहेको हाइपोथिकेशन सुरक्षणलाई समेत बैंकले लिलामीको प्रक्रियामा समावेश गरेको छ ।
बैंकले इच्छुक बोलपत्रदाताहरूलाई यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (साउन १४ गतेसम्म) काठमाडौंको बबरमहलस्थित प्रधान कार्यालयमा शिलबन्दी बोलपत्र बुझाउन आह्वान गरेको छ ।










प्रतिक्रिया