बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन

हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने


काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन निर्देशन दिएका छन् । पर्यटकीय क्षेत्र बडीमालिकामा टेलिफोन समस्या रहेको विषयमा सञ्चारमन्त्री डा तिमिल्सिनाले गम्भीर चाँसो देखाउदै तत्काल सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् ।

त्यहाँ सडक सञ्जालबाट सामान ढुवानी गर्न सक्ने अवस्था नरहेकाले हेलिकप्टरबाट तत्काल सामान ढुवानी गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो । मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल टेलिकमले साउन महिनाभित्र टेलिफोन सेवा सञ्चालनमा ल्याइसक्ने प्रतिवद्धता जनाएको छ । टेलिफोन टावर निर्माणका लागि सामान धनगढी, कैलालीसम्म ढुवानी भइसकेको र नेपाली सेनाको हेलिकप्टर उपलब्ध हुँदा चाँडो काम गर्न सकिने टेलिकमको भनाई थियो ।

देशका विभिन्न स्थानमा दूरसञ्चार मोबाइल टावर निर्माण गर्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग पनि निरन्तर समन्वय भइरहेको छ । बडीमालिकालगायत पर्यटकीय र दुर्गम क्षेत्रमा जतिसक्दै चाँडो टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाले शुक्रबार प्रधानमन्त्रीका सूचना, सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि छलफल गरेका छन् । मिश्रसँगको छलफलमा अनलाईन सट्टेबाजी (बेटिङ) एप बन्द गर्ने तथा अनलाइन ठगी नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको थियो ।

साथै सञ्चारमन्त्री डा तिमिल्सिनाले शुक्रबार नै बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्का सँग कुन–कुन ठाउँमा कस्तो पुर्वाधार आवश्यक छ भनेर छलफल गरेका छन् । साथै त्यहाँको सडक सञ्जाल अवस्थाबारे पनि जानकारी लिएका छन् ।

नेपालका दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको प्रतिबद्धता अनुसार नेपाल टेलिकमले काम गरिरहेको छ । बाजुराको बडिमालिका मन्दिर क्षेत्र (४ हजार २०० मिटर उचाइ) मा ४ जी सेवा तत्काल गर्ने लक्ष्य राखेको छ । साथै सगरमाथा आधार शिविर क्षेत्रमा समेत ४ जी सेवा विस्तारका लागि अध्ययन कार्य अगाडि बढाइएको टेलिकमले जनाएको छ ।

दुर्गम क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्ने सरकारको योजनाअनुसार केहि दिन अगाडिदेखि मात्रै डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब ३ हजार ९०० मिटर उचाइमा सफलतापूर्वक ४ जी सेवा सञ्चालनमा आइसकेको छ । त्यसैगरी, ताप्लेजुङको ओलाङचुङ गोला क्षेत्रमा ३ हजार ४०० मिटर उचाइमा फोरजी सेवा सुरु भईसकेको छ ।

देशका अन्य धेरै दुर्गम स्थानहरूसँगै अब टेलिफोन र इन्टरनेट सेवा विस्तारका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ । डिजिटल विभाजन घटाउने र सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने प्राथमिकता अनुरूप सञ्चार मन्त्रालयले काम गरिरहेको हो । अहिले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप करिब १६ सय नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार (साइट) निर्माणको प्रक्रिया अगाडि बढिसकेको छ । ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले मात्रै आगामी आर्थिक वर्षका लागि मात्रै करिब रू छ अर्ब भन्दा बढी लगानी गर्न लागेको छ ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।