एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली सुरु


काठमाडौँ । एनएमबि बैंकले अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्।

नयाँ डिजिटल पोर्टलमार्फत ग्राहकहरूले जुनसुकै स्थान वा डिभाइसबाट सजिलै कर्जाको लागि आवेदन दिन सक्नेछन्। साथै आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी ’रियल(टाइम’ मा ट्र्याक गर्न सक्नेछन्। यसले कर्जा स्वीकृत हुने समय घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई पारदर्शी, सरल र वातावरणमैत्री बनाउने बैंकको विश्वास छ।

अनलाइन कर्जा आवेदनका लागि डीआईजीआई डट एनएमबी डटकम डट एनपीमा लगइन गरी लोन सर्भिसमा गएर एक्स्प्लोर प्रोडक्टसमा क्लिक गर्नुपर्ने छ। आफूलाई चाहिएको कर्जा शीर्षक छनोट गरी आवश्यक विवरणहरू भरेर फाराम बुझाउनासाथ तुरुन्तै अनलाइन लोन ट्र्याकिङ आईडी प्राप्त हुनेछ। उक्त ट्र्याकिङ आईडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको स्थिति सोझै हेर्न सकिने बैंकले जनाएको छ।

नेपालमा आधुनिक तथा कागजरहित बैंकिङ सेवा प्रवर्द्धन गर्ने लक्ष्यका साथ यो सेवा सुरु गरिएको बैंकको भनाइ छ। सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटलाइज गरी ग्राहकको अमूल्य समय बचत गर्न र दिगो तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने बैंकको प्रतिबद्धता छ।

एनएमबि बैंकले हाल देशभरका आफ्ना १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।

प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार  १७ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।