काठमाडौँ । भिजी मोटर्स नेपालमा एसआरएम ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता तथा वितरक हो । नेपाली बजारमा एसआरएमलाई एक प्रमुख व्यावसायिक विद्युतीय सवारी (ईभी) ब्रान्डको रूपमा स्थापित गर्ने सोचका साथ कम्पनीले अगस्ट २०२३ मा एसआरएम ईभीको यात्रा सुरु गरेको थियो ।
बजारको सकारात्मक प्रतिक्रिया र १ हजार १११ थान ईभी बिक्रीको कोसेढुंगा पार गरेपछि, भिजी मोटर्सले बिक्रीपछिको सेवा सञ्जाल र ग्राहक सेवालाई सुदृढ बनाउनेतर्फ बढी जोड दिइरहेको छ । नेपाली सडकमा १० हजार थान एसआरएम ईभी पुर्याउने आफ्नो दीर्घकालीन लक्ष्यतर्फ अघि बढ्दै कम्पनीले नेपालभर यो ब्रान्डलाई अझ विस्तार गर्ने लक्ष्य राखेको छ ।
भिजी मोटर्सले विशेष समारोह आयोजना गरी १ हजार १११ थान एसआरएम ईभी बिक्रीको उत्सव मनाएको छ । कार्यक्रममा एसआरएमका प्रतिनिधि, ग्राहक, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा एसआरएमको एसियाली बजारका महाप्रबन्धक वाङ लु, एसियाली बजारका बिक्री प्रबन्धक लुसिया वाङ, भिजी मोटर्सका प्रबन्ध निर्देशक विशाल अग्रवाल, प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे, बिजनेस हेड चन्दन रौनियार लगायतको उपस्थिति थियो । कार्यक्रममा चर्चित नेपाली तेक्वान्दो खेलाडी तथा एसआरएमका ब्रान्ड एम्बेसडर दीपक विष्टको पनि सहभागिता थियो ।
एसआरएम र भिजी मोटर्सले १ हजार १११ सवारी बिक्रीको उपलब्धिलाई “१ हजार १११ यात्रा, १ हजार १११ जीविका र १ हजार १११ कथा” का रूपमा व्याख्या गरेका छन् । एसआरएमका विद्युतीय सवारी यात्रु ओसारपसार, विद्यालय तथा संस्थागत यातायात, सामान ढुवानी र साना व्यवसायका विभिन्न आवश्यकतामा प्रयोग हुँदै आएका छन् ।
कम्पनीका अनुसार नेपालका चुनौतीपूर्ण सडक अवस्थालाई ध्यानमा राख्दै एसआरएमका विद्युतीय सवारीमा ग्राउन्ड क्लियरेन्स बढाउनुका साथै मोटरको शक्ति र टर्क वृद्धि गरिएको छ । कम्पनीले सिएटिएलका ब्याट्र प्रयोग गर्दै आएको छ । एसआरएमले सर्तसहित ब्याट्रीमा ६ वर्ष वा ३ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको छ ।
भिजी मोटर्सका अनुसार नेपालमा एसआरएमका ३० भन्दा बढी सर्भिस टचपोइन्ट तथा वर्कसप सञ्चालनमा छन् । बढ्दो विद्युतीय सवारी इकोसिस्टमअन्तर्गत १०० भन्दा बढी चार्जिङ स्टेसन स्थापना भइसकेका छन् । कम्पनीले ४० जिल्लाका १ हजार ५०० भन्दा बढी मेकानिक तथा ५० भन्दा बढी ड्राइभिङ इन्स्टिच्युटका प्रशिक्षकलाई ईभी प्रविधि र सडक सुरक्षासम्बन्धी तालिम दिएको छ ।
एसआरएमले नेपालमा थप विस्तारका लागि दुईवटा विद्युतीय ट्रक र एउटा एमपीभी ल्याउने तयारीसमेत गरिरहेको छ ।
कार्यक्रममा महत्वपूर्ण ग्राहक तथा साझेदारलाई सम्मान गरिएको थियो । हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजलाई १ हजार औं एसआरएम खरिदकर्ता तथा युरो स्कुल, छाउनीलाई सबैभन्दा धेरै एसआरएम ईभी खरिद गर्ने संस्थाका रूपमा सम्मान गरियो । डिस्कभरी एजुनेसन नेटवर्क काठमाडौं प्रालिलाई एसआरएम पायोनियर अवार्ड प्रदान गरिएको थियो ।
१ हजार १११ सवारीको उपलब्धिपछि भिजी मोटर्सले नेपालमा १० हजार एसआरएम सवारी बिक्री गर्ने नयाँ लक्ष्य तय गरेको छ । कम्पनीले चार्जिङ पूर्वाधार, सर्भिस सुविधा, प्राविधिक तालिम, स्पेयर पाट्र्सको उपलब्धता तथा ग्राहक सेवामा थप लगानी गर्दै विद्युतीय व्यावसायिक सवारीको प्रयोगलाई देशभर विस्तार गर्ने योजना बनाएको छ ।





प्रतिक्रिया