नाफा वृद्धिदरको आधारमा ‘ब्लु चिप’ मानिएका बैंकहरु ‘टप टेन’ मा पनि अटेनन्

0
Shares

अधिकांश वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म गत आवको यसै अवधिको तुलनामा नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण हेर्दा शेयर बजारमा ब्लु चिप मानिएका बैंकहरु नाफा वृद्धिदरको आधारमा टप टेनमा समेत अटाउन सकेनन् ।

तेस्रो त्रैमासिक वित्तीय विवरणको नाफावृद्धिको आधारमा हेर्दा कमजोर र मध्यम मानिएका बैंकहरुले छलाङ्ग मारेका छन् । नाफा वृद्धिको आधारमा एनएमबि बेैंकले सबैलाई उछिन्दा सेन्चुरी बैंक सबैभन्दा कमजोर देखिएको छ । कुमारी, एनबिबि, सिद्धार्थ, प्रभु, सिटिजन्स, सिभिल र प्राइमले लोभलाग्दो प्रगति गर्दा एभरेष्ट, स्टाण्डर्ड चाटर्ड, हिमालयन बैंक लगायतको अवस्था नाजुक देखिएको छ ।

चैत मसान्तसम्म संचालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २१ बैंकको नाफा बढ्दा ६ बैंकको नाफामा भने गिरावट आएको छ ।

यसअवधिमा नाफा वृद्धिदरको आधारमा एनएमबि बैंकले सबैलाई पछि पारेको छ ।

बैंकको नाफा ८७.७९ प्रतिशतले बढेको छ। यस्तै दोस्रोमा उच्च नाफा बढाउनेमा कुमारी बैंक रहेको छ । जसको नाफा ७८.५७ प्रतिशतले बढेको छ । यस्तै तेस्रोमा परेको एनबिबिको नाफा ६३, चौथो सिद्धार्थको ५४, प्रभुको ४४, सिटिजनको ४१, सिभलको ३९ तथा प्राइमको ३८ प्रतिशतले नाफा बढेको छ । सबैभन्दा कम कृषि विकास बैंकको नाफा १.६१ प्रतिशतले मात्र बढेको छ । दोस्रो कम नाफा बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । जसको नाफा ७.६० प्रतिशत मात्र बढेको छ ।

कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक नाफा बढाउने अन्य सबै बैंकको नाफा दोहोरो अंकले बढेको छ । माछापुच्छ्रेको १० प्रतिशत, नेपालको १३, इन्भेष्टमेन्टको १४, सानिमाको १४, नबिलको १४ तथा ग्लोबल आइएमईको ३२ प्रतिशतले नाफा बढेको छ ।
६ बैंकको नाफा घट्यो

गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा ६ वाणिज्य बैंकको नाफमा गिरावट आएको छ । यस अवधिमा सबैभन्दा धेरै सेन्चुरी बैंकको नाफा ६० प्रतिशतले घटेको छ । सबैभन्दा कम नाफा घट्नेमा एनसीसी बैंक रहेको छ। जसको नाफा ५.५५ प्रतिशतले घटेको छ । यस्तै हिालयनको ४४, एसबिआईको ३८, एभरेष्टको ३५ र स्ट्याण्र्ड चार्टर्डको ३४ प्रतिशतले नाफा घटेको छ ।

ब्लु चिप मानिएका बैंकहरु टप टेनमा अटेनन्

समीक्षा अवधिमा ब्लु चिप मानिएका बैंकहरु नाफा वृद्धिदरको आधारमा टप टेनमा समेत अट्न सकेनन् । कमजोर तथा मझौला बैंकहरुले नाफा बढाउँदा ब्लु चिप मानिएका बैंकहरु पछि परेका छन् । शेयर बजारको ब्लु चिप मानिएका बैंकहरु नबिल, एभरेष्ट, स्टाण्डर्ड चाटर्ड, नेपाल इन्भेष्टमेन्ट, हिमालयन तथा एनआइसि एशिया लगायतको नाफा वृद्धिदर कमजोर देखिएको छ ।

एभरेष्ट, स्टाण्डर्ड चाटर्ड, र हिमालयन बैंकको नाफामा गिरावट आउँदा नबिलको नाफा १६ प्रतिशतले मात्र बढेको छ । यस्तै एनआइसि एशियाले २० प्रतिशतले नाफा बढाउँदा इन्भेष्टमेन्ट बैंकको नाफा १४ प्रतिशतले मात्र बढेको छ । नाफा वृद्धिको हिसाबले ब्लु चिप मानिएका बैंकहरुलाई सिभिल, कुमारी, सेन्चुरी, बैंक अफ काठमाण्डू, सनराइज, लक्ष्मी, सिद्धार्थ बैंक लगायतले उछिनेका छन् ।

सबैभन्दा धेरै नाफा कमाउने नबिल, चार बैंकको ३ अर्ब माथि

चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक अगाडि देखा परेको छ । नबिल बैंकले ३ अर्ब ६७ करोड ९८ लाख नाफा गरेको छ । यस्तै दोस्रोमा रहेको ग्लोबल आइएमई बैंले ३ अर्ब ५७ करोड ८२ लाख नाफा कमाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब २७ करोड नाफा कमाउँदा एनआईसि एशियाले पनि ३ अर्ब बढी नाफा गरेको छ । सबैभन्दा कम सेन्चुरी बैंकले ३५ करोड ८१ लाख मात्र नाफा गरेको छ । दोस्रो कम नाफा कमाउनेमा सिभिल बैंक रहेको छ। जसले ५० करोड बढी नाफा गरेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।