वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो, असोजमा साढे ७३ हजारभन्दा बढीले लिए श्रम स्वीकृति


काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो ३ महिना (साउन, भदौ र असोज)मा वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार तीन महिना मा दुई लाख चार हजार २४८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा दुई लाख ७१६ जनाले श्रम स्वीकृति लिएका थिए । यता, आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा कुल एक लाख ७० हजार ५९१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

विभागका अनुसार, २०८३ असोज महिनामा मात्र वैदेशिक रोजगारीमा जान ६३ हजार ३७७ पुरुष र १० हजार ३८८ महिला गरी कुल ७३ हजार ७६५ जनाले श्रम स्वीकृति लिएका छन् ।

गत वर्षको असोज महिनाको तुलनामा यस वर्षको असोजमा श्रम स्वीकृति लिनेको संख्या ९ हजार १३१ ले बढेको छ । २०८२ असोज महिनामा ५६ हजार ६२५ पुरुष र आठ हजार नौ महिला गरी ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएका थिए ।

विभागको विवरणअनुसार २०८३ साउनमा ७० हजार ४४१, भदौमा ६० हजार ४२ र असोजमा ७३ हजार ७६५ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै, अघिल्लो वर्ष २०८२ को साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२ र असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएका थिए ।

खाडी मुलुक र मलेसियाकै वर्चस्व

नेपाली श्रमिकहरूको प्रमुख गन्तव्यका रूपमा अझै पनि खाडी मुलुक र मलेसियाकै वर्चस्व कायम छ । सबैभन्दा धेरै श्रमिक युनाइटेड अरब इमिरेट्स (युएई) गएका छन्। युएईका लागि मात्रै २३ हजार ८ सय ९९ जना (पुरुष २०,२५९ र महिला ३,६४०) ले श्रम स्वीकृति पाएका छन्, जुन कुल संख्याको ३२.३९ प्रतिशत हो।

यस्तै, कतारको लागि ११ हजार ४९७ जनाले श्रम स्वीकृति लिएका छन् भने मलेसियाको ९ हजार ६५३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यता, साउदी अरेबियाको लागि ८ हजार ३६६ जना, कुवेतको लागि ५ हजार २७ जना, रोमानियाको लागि २ हजार ४७८ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै, जापानको लागि १ हजार ४९५ जना, टर्की १ हजार १०३ जना, दक्षिण कोरियाको लागि १ हजार ४१, ओमानको लागि १ हजार ३१ जनाले श्रम स्वीकृति लिएका छन् ।

प्रकाशित मिति: ११ कार्तिक २०८३, बुधबार  १२ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।