राष्ट्र बैंकले २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २ अर्ब २१ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले बैंकको विभिन्न कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको ३६५ दिने निक्षेपमा लगानी गर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकले उक्त रकम २०७८ साल जेठ २ गतेदेखि २०७९ साल जेठ १ गतेसम्म ३६५ दिनका लागि मुद्दती निक्षेप राख्न लागेको हो ।

केन्द्रीय बैंकले कोषको रकम ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ६० करोड १७ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३० करोड ३ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १० करोड १ लाख रुपैयाँ गरी कूल दुई अर्ब २१ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी वैशाख २१ गते, मंगलबार दिउँसो १ बजेसम्म शिलबन्दी प्रस्ताव पेश गनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र न्यूनतम पूँजीकोष कायम हुनुपर्नेछ ।

निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने, निकटतम अघिल्लो वर्षमा मुनाफामा रहेको र रियलस्टेट कर्जा तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने राष्ट्र बैंकले तोकेको छ।

त्यसैगरी, सञ्चालक, सीईओ, र कार्यकारी सञ्चालकले राष्ट्र बैंकबाट कारवाही भोगेको भएपनि ६ महिना पूरा भएको, संस्था शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।