माछापुच्छ्रे बैंकको कोर बैंकिङ्ग सिस्टम तोकिएको समयमा प्रतिस्थापन नहुँदा सेवाग्राही मर्कामा

0
Shares

माछापुच्छ्रे बैंकको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) पूर्व निर्धारित समयमा प्रतिस्थापन नहुँदा आइतबार पनि बैंकको सम्पूर्ण सेवा अवरुद्ध हुँदा सेवाग्राही सेवा लिनबाट बन्चित भए।

बैंकले सूचना मार्फत जानकारी गराएको समयसम्म पनि बैंकिङ सिष्टम संचालनमा नआउँदा उपभोक्ता बैंकिङ्ग सेवा लिनबाट बन्चित भएका हुन् ।

बैंकले हाल संचालनमा रहेको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) प्रतिस्थापन गर्ने भन्दै बैशाख १६ गते बिहीबार बेलुका ६ बजेदेखि १९ गते आइतबार बिहान ६ बजेसम्म सम्पूर्ण बैंकिङ सेवा पूर्ण रुपमा बन्द हुने जनाएको भएपनि आइतबार दिनभर बैंकको सेवा अवरुद्ध हुन पुगेको हो।

बैंकले केहिदिन अघि सूचना प्रकाशित गरी पूरानो सफ्टवेयरमा रहेको तथ्याङ्क नयाँ सिस्टममा ट्रान्सफर गर्न (कोर बैंकिङ सिष्टम प्रतिस्थापन ) सम्पूर्ण बैंकिङ्ग सेवा बन्द गरिने जनाएको थियो । बैंकले आफ्नो सूचनामा उक्त अवधिमा बैंकको इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड (क्रेडिट प्रिपेड कार्ड बाहेक) रेमिट्यान्स लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द हुने बताएको थियो ।

किर्तीपुरमा बस्ने बाबुराम तिमिल्सीनाले आइतबार दिनभरी कुनै शाखाबाट पनि चेक साट्न र आइपिएस गर्न समेत नसकेको गुनासो गरे । ‘बैंकको सूचनामा आइतबार बिहान ६ बजेबाट सेवा सुचारु हुने जनाइएको भएपनि दिनभरी नै सेवा लिन पाइन’, उनले भने ।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले वैशाख १९ गते आइतबार बिहान ६ बजेबाट नै सबै सेवा सूचारु हुन नसकेको स्वीकार गरे । उनले कोर बैंकिङ्ग सिस्टम (सीबीएस) प्रतिस्थापनमा केहि ढिलाई हुने भएपछि बिहानै सूचना प्रकाशित गरी सेवाग्राहीहरुलाई जानकारी गराइएको दाबी गरे ।

प्राविधिक काममा केहि ढिलाई हुँदा सेवाग्राही मर्कामा परेको यर्थाथलाई स्वीकार्दै उनले भने, ‘आइतबार दिउँसो २ बजेपछि सबै सेवाहरु संचालनमा आइसकेका छन् ।’अहिले बैंकका सबै सेवाहरु सूचारु भइसकेका छन् । बैंकले निषेधाज्ञाको समयमा पनि राष्ट्र बैंकको निर्देशन अनुसार सबै सेवाहरु संचालन गरिरहेको उनले बताए।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।