काठमाडौँ । एक वर्षको अवधिमा बैंकिङ क्षेत्रको विदेशी सम्पत्ति ४६.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८२/८३ को असारमसान्तसम्ममा मुलुकको विदेशी सम्पत्ति ४१ खर्ब ४२ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ पुगेको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रको कुल विदेशी सम्पत्ति २८ खर्ब २१ अर्ब ९५ करोड ९३ लाख रुपैयाँ रहेको थियो । राष्ट्र बैंकको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा विदेशी सम्पत्तिसँगै विदेशी मुद्रा सञ्चिति र शुद्ध विदेशी सम्पत्तिमा समेत उल्लेख्य वृद्धि देखिएको छ ।
बैंकिङ क्षेत्रको विदेशी सम्पत्तिमा सबैभन्दा ठूलो हिस्सा राष्ट्र बैंकको रहेको छ । एक वर्षमा राष्ट्र बैंकसँग रहेको विदेशी सम्पत्ति ४५.३ प्रतिशतले बढेर ३७ खर्ब १८ अर्ब ३७ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो सम्पत्ति २५ खर्ब ५५ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकको विदेशी सम्पत्तिमा सुन, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सम्बन्धित सञ्चिति तथा विदेशी विनिमय सञ्चिति लगायत सम्पत्ति रहेका छन् । यसमध्ये सुन, विशेष आहरण अधिकार (एसडीआर) तथा आईएमएफसँगको सञ्चिति सम्बन्धी सम्पत्ति ६९.९ प्रतिशतले बढेर २ खर्ब ४५ अर्ब १८ करोड ५३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, राष्ट्र बैंकको विदेशी विनिमय सञ्चिति ४३.८ प्रतिशतले बढेर ३४ खर्ब ७३ अर्ब १८ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।
६१.४ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको विदेशी सम्पत्ति
राष्ट्र बैंकको तुलनामा बैंक तथा वित्तीय संस्थाको विदेशी सम्पत्ति वृद्धिदर तिव्र देखिएको छ । एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाको विदेशी सम्पत्ति ६१.४ प्रतिशतले बढेर ४ खर्ब २४ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो सम्पत्ति २ खर्ब ६३ अर्ब ४ करोड ४० लाख रुपैयाँ रहेको थियो ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी सम्पत्तिमध्ये विदेशी मुद्रामा सहज रूपमा रूपान्तरण गर्न सकिने सम्पत्ति ६६.६ प्रतिशतले बढेर ४ खर्ब ८ अर्ब ९३ करोड ७४ लाख रुपैयाँ पुगेको छ । यसको विपरीत सहज रूपमा रूपान्तरण गर्न कठिन पर्ने विदेशी सम्पत्ति ११.९ प्रतिशतले घटेर १५ अर्ब ५५ करोड ४७ लाख रुपैयाँमा सीमित भएको केन्दीय बैंकले जनाएको छ ।
यस्तै तुलना अवधिमा बैंकिङ क्षेत्रको कुल विदेशी विनिमय सञ्चितिमा पनि उल्लेख्य वृद्धि देखिएको छ । गत आर्थिक वर्षमा यस्तो सञ्चिति ४५.६ प्रतिशतले बढेर ३८ खर्ब ९७ अर्ब ६७ करोड ४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यो रकम २६ खर्ब ७७ अर्ब ६८ करोड ३७ लाख रुपैयाँ रहेको थियो ।
कुल सञ्चितिमध्ये परिवर्तनीय विदेशी मुद्राको हिस्सा ७७.७ प्रतिशत र अपरिवर्तनीय सञ्चितिको हिस्सा २२.३ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा यो हिस्सा क्रमशः ७६.९ प्रतिशत र २३.१ प्रतिशत थिए । यसले कुल सञ्चितिमा परिवर्तनीय विदेशी मुद्राको हिस्सा केही बढेको देखाउँछ ।
सञ्चिति बढेसँगै मुलुकको बाह्य भुक्तानी क्षमता पनि बलियो भएको छ । गत आर्थिक वर्षको अन्त्यमा रहेको विदेशी मुद्रा सञ्चितिले करिब २३ महिनाको वस्तु आयात र १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकको भनाई छ ।
अघिल्लो आर्थिक वर्ष यस्तो सञ्चितिले १८.२ महिना वस्तु र १५.४ महिनाको लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने थियो । अर्थात् एक वर्षको अवधिमा सञ्चितिले धान्न सक्ने वस्तु आयात अवधि करिब पाँच महिना र वस्तु तथा सेवा आयात अवधि चार महिनाभन्दा बढीले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
सञ्चिति बढ्नु मात्रै उपलब्धि मान्न नसकिने विज्ञको भनाई
विदेशी मुद्रा सञ्चिति बढ्दै जानुलाई उपलब्धिका रूपमा हेर्न नसकिने राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ बताउँछन् । उनका अनुसार पछिल्लो समय सञ्चिति बढ्नुको प्रमुख आधार विप्रेषण भएकाले यसमा अत्यधिक उत्साहित हुनुपर्ने अवस्था छैन । “सामान्य अर्थमा विदेशी मुद्रा सञ्चिति बढ्नु नराम्रो होइन । तर यसरी उल्लेख्य रूपमा विदेशी मुद्रा सञ्चिति बढ्दै जानु र त्यसको उपयोग हुन नसक्नु हाम्रो असक्षमता हो,” श्रेष्ठले भने ।
विप्रेषणबाहेक विदेशी मुद्रा आर्जनका अन्य स्रोत बलियो बनाउन नसक्दा सञ्चिति बढे पनि त्यसले अर्थतन्त्रमा अपेक्षित योगदान पु¥याउन नसकेको उनको भनाइ छ । अहिले बढेको सञ्चितिलाई निष्क्रिय राख्नुभन्दा उत्पादनशील क्षेत्रमा लगानी बढाउन सकेमा मात्र यसले अर्थतन्त्रमा सहयोग पुग्ने उनले बताए ।
यसका लागि सरकार र निजी क्षेत्र दुवै सक्रिय हुनुपर्ने श्रेष्ठको भनाई छ । “सरकारले पूँजीगत खर्च बढाउनुपर्छ र निजी क्षेत्र पनि लगानी गर्ने अवस्थामा आउनुपर्छ । त्यसो हुन सकेमा अहिले सञ्चितिमा रहेको विदेशी मुद्राले अर्थतन्त्रलाई सहयोग पु¥याउन सक्छ,” उनले भने ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा पनि विदेशी मुद्रा सञ्चिति उल्लेख्य रूपमा बढेको छ । यस्तो अनुपात २०८१/८२ मा ४३.८ प्रतिशत रहेकामा २०८२/८३ मा बढेर ६३.८ प्रतिशत पुगेको छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक हेर्दा सञ्चिति–जीडीपी अनुपात २०८०/८१ मा ३५.८ प्रतिशतबाट २०८१/८२ मा ४३.८ प्रतिशत पुगेकोमा गत आर्थिक वर्षमा आएर ६३.८ प्रतिशत पुगेको देखिन्छ ।
त्यस्तै, सञ्चिति र मुद्रा प्रदायबीचको अनुपात ३४.१ प्रतिशतबाट बढेर ४३.८ प्रतिशत पुगेको छ । सञ्चिति र आयातबीचको अनुपात पनि १२८.१ प्रतिशतबाट बढेर १६३.४ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
विदेशी दायित्व भन्दा सम्पत्तिको वृद्धि उच्च
विदेशी सम्पत्ति बढेसँगै बैंकिङ क्षेत्रको विदेशी दायित्वमा पनि सामान्य वृद्धि भएको छ । एक वर्षमा विदेशी दायित्व १२.६ प्रतिशतले बढेर १ खर्ब ७६ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
तर विदेशी दायित्वको तुलनामा विदेशी सम्पत्तिको वृद्धिदर निकै उच्च रहेकाले बैंकिङ क्षेत्रको शुद्ध विदेशी सम्पत्ति ४८.८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्त्यमा शुद्ध विदेशी सम्पत्ति ३९ खर्ब ६५ अर्ब ९७ करोड ६९ लाख रुपैयाँ पुगेको देखिन्छ । अघिल्लो आर्थिक वर्ष यस्तो सम्पत्ति २६ खर्ब ६४ अर्ब ९४ करोड २९ लाख रुपैयाँ थियो ।





प्रतिक्रिया