विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो


विश्वव्यापी रूपमा ऊर्जा तथा ढुवानी लागत बढेको र आन्तरिक परिष्करण क्षमतामा कमी आएको भन्दै सिरियाले आइतबार इन्धन तथा खाना पकाउने ग्यासको मूल्य अस्थायी रूपमा वृद्धि गरेको छ ।

पेट्रोलियम पदार्थ तथा खनिज स्रोतको मूल्य निर्धारणसम्बन्धी स्थायी समितिले जारी गरेको नयाँ मूल्यसूचीअनुसार, ९५–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ सिरियन पाउन्डबाट बढाएर १९५ पाउन्ड पुर्याइएको छ । यो २८.३ प्रतिशतको वृद्धि हो ।

त्यस्तै, ९०–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १४७ बाट १८५ पाउन्ड पुगेको छ, जुन २५.९ प्रतिशत वृद्धि हो । डिजेलको मूल्य भने प्रतिलिटर १२५ बाट बढाएर १७५ पाउन्ड पु¥याइएको छ, यो ४० प्रतिशतको वृद्धि हो ।

खाना पकाउने ग्यासको मूल्य पनि बढाइएको छ । घरायसी प्रयोजनको ग्यास सिलिन्डरको मूल्य १ हजार ४७० बाट १ हजार ६०० पाउन्ड पुगेको छ, जुन ८.८ प्रतिशत वृद्धि हो ।

ऊर्जा मन्त्रालयले मूल्य वृद्धि अस्थायी रहेको जनाएको छ । मन्त्रालयका अनुसार अन्तरराष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ खरिद गर्दा लागत असामान्य रूपमा बढ्नुका साथै देशको प्रमुख इन्धन आपूर्तिकर्तामध्ये एक ‘बानियास रिफाइनरी’मा भइरहेको व्यापक मर्मतसम्भारका कारण मूल्य समायोजन गर्नुपरेको हो ।

यो मूल्य वृद्धि सेप्टेम्बर ४ को समायोजनको एक साताभन्दा केही समयपछि आएको हो । त्यसबेला पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ५ पाउन्डले बढाइएको थियो भने घरायसी तथा औद्योगिक ग्यासको मूल्य यथावत् राखिएको थियो ।

प्रकाशित मिति: २८ भाद्र २०८३, आइतबार  १३ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।