काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी बडादशैंलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएम मेसिनबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकाे छ।
चाडपर्वका बेला नयाँ तथा साना दरका नोट साट्न बैंकका काउन्टरमा सर्वसाधारणको अत्यधिक भीड लाग्ने भएकाले त्यसलाई कम गर्न राष्ट्र बैंकले यस्तो पहल गरेको हो। सहज रूपमा नगद उपलब्ध गराउने उद्देश्यले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र पठाउँदै एटीएमबाट १०० रुपैयाँका नोट उपलब्ध गराउन अनुरोध गरेको छ।
हाल अधिकांश बैंक तथा वित्तीय संस्थाले एटीएममार्फत मुख्यतः ५०० र १ हजार रुपैयाँ दरका नोट मात्रै वितरण गर्दै आएका छन्। तर, एटीएमबाटै १०० रुपैयाँका नोटसमेत निकाल्न पाउने व्यवस्था गर्नुपर्ने माग ग्राहकहरूबाट पटक–पटक आउने गरेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार केही बैंकसँग एटीएमको प्राविधिक अवस्थाबारे जानकारी लिँदा १०० रुपैयाँ दरका नोटसमेत मेसिनमार्फत वितरण गर्न सकिने देखिएको छ। सोही आधारमा सम्भव हुने बैंक तथा वित्तीय संस्थाले यस्तो व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले आग्रह गरेको हो।
राष्ट्र बैंकले नेपाल बैंकर्स संघलाई पठाएको पत्रमा बडादशैंको समयमा एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न सके बैंकका काउन्टरमा साना दरका नोट साट्न आउने ग्राहकको भीड उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको उल्लेख छ।
चाडपर्वको समयमा सर्वसाधारणलाई साना दरका नोट सहज रूपमा उपलब्ध गराउन एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने व्यवस्था मिलाएर सहयोग गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।
यससम्बन्धी पत्रको बोधार्थ राष्ट्र बैंकले डेभलपमेन्ट बैंकर्स संघ नेपाल र नेपाल वित्तीय संस्था संघलाई समेत पठाएको छ।
राष्ट्र बैंकको यो आग्रह कार्यान्वयन भएमा दशैंका बेला साना दरका नोट आवश्यक पर्ने सर्वसाधारणले बैंकको काउन्टरमा लामो समय लाइन बस्नुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।





प्रतिक्रिया