
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गते (मंगलबार) देखि आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा अनलाईन माध्यमबाट समेत आवेदन गर्न सकिने भएको छ ।
यसअघि सिन्धुपाल्चोक जिल्लामा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय तथा उपत्यकामा ७ वटा क्यापिटलका कार्यालयहरुबाट आवेदन दिन पाउने व्यवस्था रहेकोमा शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले अनलाईन प्ल्याटफर्म मार्फत समेत आवेदन दिनसक्ने व्यवस्था गरेको हो ।
क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले नोटबजारसँग कुराकानी गर्दै बैंक तथा वित्तीय संस्थाहरुबाट सि-आश्वाको माध्यमबाट आवेदन गर्ने व्यवस्था भएपनि जारी निषेधाज्ञाका कारण हिँडडुल गर्न नपाइने अवस्था आएपछि आवेदनको सहजताका लागि वेवसाइट मार्फत नै आईपीओमा आवेदन गर्न सकिने व्यवस्था गरिएको बताए । वेवसाइट मार्फत आवश्यक विवरण भरेर आईपीओ खरीदका लागि गरिने भुक्तानी डिजिटल माध्यमबाटै भुक्तानी सेवा प्रदायकहरुबाट पेमेन्ट गर्न सकिने उनको भनाई छ ।
कसरी गर्ने अनलाईन मार्फत आवेदन ?
अनलाईन मार्फत आवेदन गर्ने लगानीकर्ताले क्यापिटलको वेवसाइटमा दायाँ भागको शीर्ष स्थानमा रहेको लिङ्कमा गएर आवेदकको हालसालै खिचिएको फोटो, आवेदन गर्ने शेयर संख्या अनुसार १०० प्रति कित्ता शेयरले गुणन गर्दा हुन आउने रकम जम्मा भौचर, आवेदकको दस्तखत, आवेदकको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि (नाबालक आवेदक बाहेकका सबै आवेदकले अनिवार्य) संलग्न गर्नुपर्ने जनाइएको छ ।
यसैगरी नाबालकको हकमा सम्बन्धित स्थानीय निकायबाट जारी भएको जन्म दर्ता वा नाबालक परिचयपत्रको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्नेछ । साथै संरक्षकको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र दस्तखत पनि आवश्यक पर्नेछ । विवाह भई आएका महिलाको हकमा दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र बैशाख १३ गतेसम्म बसाई सराई गरी आएकाको हकमा बसाइ सराइ आएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि आवश्यक पर्ने जनाइएको छ ।
यसरी आफु सिन्धोपाञ्चोक जिल्लाको स्थायी बासिन्दा भएको उद्घोष गर्ने दुईवटा बिकल्पमा रोजा चिन्ह लगाएर मागिएको आवश्यक विवरण भर्नुपर्ने हुन्छ ।

हाल कोभिड महामारीका कारण उपत्यका लगायत ४६ जिल्लामा निषेधाज्ञा जारी रहेका कारण ग्राहकलाई बैंक शाखा पुग्न कठिनाई हुने भएकाले कुनै पनि बैंक, विकास बैंक तथा फाइनान्सको मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । लगानीकर्ताले घरमै बसेर अनलाईन माध्यमबाट आईपीओ खरीदको रकम समेत भुक्तानी गर्न सक्नेछन् । जसका लागि ग्लोबल आइएमई क्यापिटलको ग्लोबल आईएमई बैंकको कान्तिपथ शाखामा रहेको खाता खाता नम्बर ०१०१०१०००५८१३ र सिभिल बैंकको सुन्धारा शाखामा रहेको खाता नम्बर ००२१००७६२३४१५३ मा रकम भुक्तानी गर्न सकिन्छ । यस्तै वेवसाइटमा रहेको क्यूआर कोड मार्फत समेत सहज रुपमा भुक्तानी गर्न सकिने क्यापिटलले जनाएको छ ।
यस निष्काशनमा सिन्धुपाल्चोक जिल्लाको बासिन्दा भएपनि यसअघि निष्काशन गरिएको शेयरमा आवेदन दिई बाडँफाडँमा पर्न सफल भएका कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारी, संस्थापक शेयरधनी संस्था (चिलिमे जलविद्युत कम्पनी, नेपाल विद्युत प्राघिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि, नेपाल अरनिको हाइड्रोपावर कम्पनी प्रालि तथा सिन्धु भोटेकोशी हाइड्रोपावरका कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष) का कर्मचारीहरुले भने आवेदन गर्न पाउनेछैनन् ।
धितोपत्र बोर्डबाट १ अर्ब ५० करोडको शेयर जारी गर्न अनुमति पाएको कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका बासिन्दाका लागि १० प्रतिशतका दरले हुन आउने ६० लाख कित्ता अर्थात ६० करोड बराबरको शेयर जारी गरेको हो । उक्त आइपीओ निष्काशन छिटोमा जेठ ४ बन्द हनेछ भने ढिलोमा जेठ २० गतेसम्म खुला रहनेछ ।
कुल निष्काशनमा आउने शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं.५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँड गरिने जनाइएको छ ।
यसैगरी बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्टाइएको छ ।
कहाँ-कहाँबाट भर्न सकिन्छ ?
स्थानीयका लागि जारी हुने शेयर खरीदका लागि ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एशिया बैंकका सिन्धुपाल्चोक जिल्लामा रहेका शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।
यसैगरी उपत्यकामा ग्लोबल आइएमई क्यापिटल नक्साल, एनआईबिएल एस क्यापिटल लाजिम्पाट, प्रभु क्यापिटल कमलादी, सानिमा क्यापिटल पुतलीसडक, लक्ष्मी क्यापिट मार्केट नयाँ बानेश्यर, सिभिल क्यापिटल सुन्धारा र सीआईबिएल क्यापिटल बाटुलेघर डिल्लिबजार मार्फत पनि आवेदन बुझाउन सक्नेछन् ।

यसका अलवा ग्लोबल आइएमई क्यापिटलको वेवसाइट मार्फत आवश्यक सम्पूर्ण विवरण भरेर अनलाईन आवेदन गर्न पनि सकिने व्यवस्था गरिएको छ । उक्त आईपीओमा न्यूनतम ५० कित्ता देखि अधिकतम ४०० कित्तासम्मका लागि आवेदन पाउने व्यवस्था छ ।
मध्य भोटेकाशीको आईपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी इस्युअर रेटिङ’ प्रदान गरेको छ । यो रेटिङ प्राप्त संस्थाले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया