बैंकमा थुप्रिँदै निक्षेप, सुस्त कर्जा लगानी : एकैदिन ७ अर्ब थपिँदा वाणिज्य बैंकको कर्जा लगानी भने ऋणात्मक


काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने क्रम जारी रहेपनि कर्जा परिचालन भने अपेक्षाकृत सुस्त देखिएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार एक दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ७ अर्ब रुपैयाँले बढ्दा कर्जा परिचालन भने १ अर्ब रुपैयाँले मात्र बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ८३ खर्ब ३१ अर्ब रुपैयाँबाट बढेर ८३ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ । सोही अवधिमा कुल कर्जा भने ५९ खर्ब ९७ अर्ब रुपैयाँबाट बढेर ५ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । यसले बैंकिङ प्रणालीमा निक्षेप संकलनको तुलनामा कर्जा विस्तार कमजोर रहेको देखाएको हो ।

केन्द्रीय बैंकका अनुसार कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूको निक्षेप ७५ खर्ब २७ अर्ब रुपैयाँबाट बढेर ७५ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप पनि ८ खर्ब ४ अर्ब रुपैयाँबाट बढेर ८ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । यसरी हेर्दा एकैदिन वाणिज्य बैंकहरूमा मात्रै ६ अर्ब रुपैयाँ निक्षेप थपिँदा अन्य बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन १ अर्ब रुपैयाँले बढेको छ ।

यता, वाणिज्य बैंकहरूको कर्जा लगानी भने ५३ खर्ब ३५ अर्ब रुपैयाँबाट घटेर ५३ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा भने ६ खर्ब ६२ अर्ब रुपैयाँबाट बढेर ६ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ । अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी २ अर्बले बढेपनि वाणिज्य बैंकको कर्जा लगानी ऋणात्मक बन्दा समग्रमा कर्जा परिचालन १ अर्ब रुपैयाँले मात्र बढेको देखिन्छ ।

निक्षेपको तुलनामा कर्जा विस्तार सुस्त भएपछि बैंकिङ प्रणालीको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ । पछिल्लो तथ्यांकअनुसार सीडी रेसियो ७१.३८ प्रतिशतबाट घटेर ७१.३५ प्रतिशतमा झरेको छ । यसले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम प्रर्याप्त रहेको संकेत गर्दछ ।

पछिल्ला केही वर्षयता बैंकिङ प्रणालीमा निक्षेप बढ्ने तर त्यसअनुसार कर्जा लगानी हुन नसक्ने अवस्था देखिँदै आएको छ । यही कारण बैंकिङ प्रणालीमा तरलता सहज हुनुका साथै ब्याजदर समेत निरन्तर घट्दै गएको देखिन्छ ।

केन्द्रीय बैंकका अनुसार पछिल्लो तिन आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा समेत उल्लेख्य कमी आएको छ । आर्थिक वर्ष २०७९-८० को असार मसान्तमा वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याजदर ७.८६ प्रतिशत रहेकोमा गत आर्थिक वर्ष २०८२-८३ को अन्त्यमा ३.२१ प्रतिशतमा झरेको थियो । सोही अवधिमा कर्जाको औसत ब्याजदर १२.३० प्रतिशतबाट ६.५५ प्रतिशतमा झरेको थियो ।

कर्जाको तुलनामा निक्षेप बढ्दै गएपछि बैंकिङ प्रणालीको सीडी रेसियो पनि घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९-८० मा वाणिज्य बैंकहरूको सीडी रेसियो ८१.६२ प्रतिशत रहेकोमा गत आर्थिक वर्षको असार मसान्तमा ७२ प्रतिशत हाराहारीमा झरेको थियो । अहिले यो अझै घटेर ७१.३५ प्रतिशतमा आएको छ ।

केन्द्रीय बैंकले समेत पछिल्लो समय ब्याजदर घटाउने तथा बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन सहज बनाउने नीति लिँदै आएको छ । तुलना अवधिमा राष्ट्र बैंकले नीतिगत दर ७ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा ल्याएको छ । तर ब्याजदर घट्दै जाँदा पनि निजी क्षेत्रमा कर्जाको माग भने अपेक्षाकृत रुपमा बढ्न सकेको देखिँदैन ।

बैंकिङ प्रणालीमा तरलता बढ्दै जाँदा ट्रेजरी बिलको ब्याजदरमा समेत उल्लेख्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार ३६४ दिने ट्रेजरी बिलको ब्याजदर २०७९-८० को असार मसान्तमा ७ प्रतिशत रहेकोमा २०८२-८३ को असार मसान्तमा २.४९ प्रतिशतमा झरेको छ । यस अवधिमा ३६४ दिने ट्रेजरी बिलको ब्याजदर ४.५१ प्रतिशत बिन्दुले घटेको हो ।
यस्तै, ९१ दिने ट्रेजरी बिलको ब्याजदर तीन वर्षमा ६.३५ प्रतिशतबाट २.३२ प्रतिशतमा झरेको छ । तुलना अवधिमा १८२ दिने ट्रेजरी बिलको ब्याजदर पनि ६.५५ प्रतिशतबाट २.५२ प्रतिशतमा झरेको छ । छोटो अवधिको २८ दिने ट्रेजरी बिलको ब्याजदर ४.३९ प्रतिशतबाट १.७६ प्रतिशतमा झरेको छ ।

बैंकिङ प्रणालीमा तरलता बढी हुनु, केन्द्रिय बैंकको नीतिगत ब्याजदरमा आएको कमी तथा निक्षेप संकलनको तुलनामा कर्जा परिचालन कमजोर हुनु लगायतका कारणले ब्याजदरमा उल्लेख्य गिरावट आएको देखिन्छ । ट्रेजरी बिल सरकारले छोटो समयका लागि आन्तरिक ऋण लिने वित्तीय उपकरण भएकाले यसको ब्याजदर घट्दा सरकारलाई आन्तरिक ऋण परिचालन गर्न लागतसमेत कम पर्छ ।

ब्याजदर घट्नुमा कर्जाको माग कमजोर हुनु प्रमुख कारण रहेको पूर्व बैंकर भुवन दाहाल बताउँछन् । उनका अनुसार बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त भएपनि कर्जाको माग नहुँदा बैंकहरूले लगानीका लागि सरकारी ऋणपत्रलाई एउटा विकल्पका रूपमा प्रयोग गरिरहेका छन् । सोहि कारण ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको उनले बताए ।

कर्जाको माग कम हुनु भनेको अर्थतन्त्र अपेक्षाकृत रुपमा चलायमान नभएको संकेतको रुपमा लिन सकिने उनको भनाइ छ ।

यस्तै, राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल पनि ब्याजदर घट्नुमा पर्याप्त तरलता प्रमुख कारण बनेको बताउँछन् । उनका अनुसार कर्जाको माग बढ्नु नै बैंकिङ प्रणालीमा रहेको तरलता परिचालन गर्ने मुख्य आधार हो । राष्ट्र बैंकले सीडी रेसियो, तरलता व्यवस्थापन तथा ब्याजदरलगायत मौद्रिक नीतिमार्फत सम्बोधन गर्नुपर्ने विषयमा काम गरिरहेको भएपनि कर्जा लगानी बढ्न नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति: १ आश्विन २०८३, बिहिबार  ०७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।