झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध आजदेखि खोप अभियान


भद्रपुर । झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ। स्वास्थ्य कार्यालय झापाले जिल्लाका १५ वटै स्थानीय तहमा अभियान सञ्चालन गर्न लागेको हो।

असोज ५ देखि १५ गतेसम्म सञ्चालन हुने अभियानमा ३० वर्षमाथिका ४ लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। अभियानका लागि ५ लाख ७० हजार डोज खोप प्राप्त भइसकेको र आवश्यक तयारीसमेत पूरा भएको कार्यालयले जनाएको छ।

खोप अभियानका लागि जिल्लाका १३१ वडामा ९०० वटा खोप केन्द्र स्थापना गरिएको छ। अभियानमा करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन हुने स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले जानकारी दिए।

झापामा जेई संक्रमण तथा यसबाट हुने मृत्युदर बढ्दै गएपछि उच्च सतर्कताका साथ खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए। जिल्लामा हालसम्म १३ जनामा जेई संक्रमण पुष्टि भएकामा सात जनाको मृत्यु भएको छ। मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको पाइएको दासले जानकारी दिए।

लक्षित समूहका कुनै पनि नागरिक खोपबाट नछुटून् भन्ने उद्देश्यले स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक तयारी पूरा गरिएको उनले बताए। खोप सुरक्षित भएकाले लक्षित समूहका नागरिकलाई अभियानमा सहभागी भएर खोप लगाउन उनले आग्रह गरे।

स्वास्थ्य कार्यालयका अनुसार गर्भवती महिला, यसअघि खोप लगाउँदा गम्भीर एलर्जी (एनाफिलेक्सिस) देखिएका व्यक्ति तथा खोपमा प्रयोग हुने कुनै तत्वबाट गम्भीर एलर्जी भएका व्यक्तिले खोप लगाउनु हुँदैन। त्यस्तै, ज्वरो आएको अवस्थामा खोप नलगाई ज्वरो निको भएपछि खोप लगाउन सकिने जनाइएको छ।

जापानिज इन्सेफलाइटिस क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। संक्रमित चराचुरुङ्गी वा सुँगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो रोग सर्न सक्छ।

प्रकाशित मिति: ५ आश्विन २०८३, सोमबार  ०७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।