काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा ११ दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुन सक्ने जनाएको छ ।
प्राधिकरणका अनुसार टेकु सबस्टेसनको प्राविधिक स्तरोन्नति तथा वितरण लाइन सुदृढीकरणका लागि कुनै एक फिडर बढीमा दुई दिन रातिको तीन घण्टा लाइन काटेर मर्मत गरिने भएको छ । मर्मतका क्रममा टेकु सबस्टेसनमा आबद्ध विभिन्न फिडर राति ११ देखि बिहान २ बजेसम्म वा बिहान २ देखि ५ बजेसम्म मर्मतसम्भार गर्न विद्युत् आपूर्ति रोकिन सक्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसनको ११ केभी प्यानलमा प्राविधिक सुधार गर्न लागेको हो । आयोजना अन्तर्गत ११ केभी प्यानलमा रहेका पुराना रिले हटाएर नयाँ रिले जडान गर्ने पुनः सबलीकरण गर्ने रिले रेट्रोफिट तथा सबस्टेसन अटोमेसन प्रणाली जडान र परीक्षणको कामसमेत गरिने प्राधिकरणले जनाएको छ ।
आयोजना प्रमुख नीतीश पौडेलका अनुसार वितरण प्रणाली मर्मतसम्भार तथा आधुनिकीकरणका लागि विद्युत् आपूर्ति रोकेर बन्द गर्नुपर्ने अवस्था आएको हो । “विद्युत् प्रणालीलाई थप सुरक्षित, भरपर्दो तथा आधुनिक बनाउन पुराना उपकरण र रिले विस्थापन गरी नयाँ प्रणाली जडान गर्दै छौँ,” उनले भने, “निर्धारित समयभन्दा छिटो काम सकेमा तत्कालै विद्युत् आपूर्ति गर्ने छौँ ।”
रत्नपार्क वितरण केन्द्र अन्तर्गत असोज ४ र ५ गते राति सुन्धारा–१ फिडरको विद्युत् अवरुद्ध हुने छ । ६ र ७ गते सुन्धारा २ फिडरको आपूर्ति राति तीन घण्टा अवरुद्ध रहने छ । त्यस्तै थापाथली फिडर र मिन्ट फिडर ७ र ८ गते तथा कालीमाटी फिडर ९ र १० गते अवरुद्ध हुने जनाइएको छ । ९ र ११ गते भीमसेनस्थान तथा १० र १२ गते क्षेत्रपाटी फिडर बन्द रहने छन् । १२ र १३ गते त्रिपुरेश्वर फिडर मर्मतका लागि राति तीन घण्टा अवरुद्ध हुने छ ।
पुल्चोक वितरण केन्द्र अन्तर्गतको पुल्चोक फिडर ५ र ६ गते, बागमती फिडर ६ र ७ गते, भैँसेपाटी र रिङरोड फिडर ७ र ८ गते राति तीन घण्टा मर्मतका लागि बन्द हुने छन् ।
कुलेश्वर वितरण केन्द्र अन्तर्गत ताहाचल फिडर १२ र १३ गते ११ देखि २ बजेसम्म र चमती फिडर २ देखि ५ बजेसम्म बन्द हुने छन् । कुलेश्वर फिडर १३ र १४ गते ११ देखि २ बजेसम्म मर्मतका लागि बन्द हुने छ । १३ र २४ गते २ देखि ५ बजेसम्म कीर्तिपुर फिडरमा विद्युत् आपूर्ति अवरुद्ध हुने छ । यस अनुसार एक फिडरमा बढीमा दुई दिन राति तीनरतीन घण्टा विद्युत् अवरुद्ध हुने देखिएको हो ।







