भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति


काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवा बाढीपछि नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रूत प्रतिक्रिया टोली (क्युआरटी)ले पर्यटनमन्त्री खडग राज पौडेललाई बुझाएको प्रतिवेदनमा उक्त क्षति भएको जनाइएको हो ।

प्रतिवेदनअनुसार बाढी तथा पहिरोबाट विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ । 

क्युआरटीका संयोजक धमलाका अनुसार क्षेत्रगत रूपमा सबैभन्दा बढी होटल क्षेत्रमा ९ अर्ब ५६ करोड चार लाख ४८ हजार रुपैयाँ, वैदेशिक पर्यटन आम्दानीमा १४ अर्ब ६० करोड २४ लाख ६४ हजार रुपैयाँ र पर्यटक व्यवस्थापनमा १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।

त्यस्तै, सम्पदा तथा पर्यटन पूर्वाधार, सवारीसाधन, रेस्टुरेन्ट, लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबार, आन्तरिक पर्यटन राजस्व, र्‍याफ्टिङ तथा क्याम्पिङ साइट, ट्रेकिङ ट्रेललगायत क्षेत्रमा क्षति पुगेको क्युआरटीका संयोजक धमलाले जानकारी दिए। उनका अनुसार बाढी तथा पहिरोमा एक हजार ११७ जना नेपाली तथा विदेशी नागरिक प्रभावित भएका छन् ।

हालसम्म ३१० जनाको सकुशल उद्धार गरिएको छ भने १३ जना सम्पर्कमा आएका छन् । हालसम्म ६०६ विदेशी र १८८ जना नेपालीसहित ७९४ जना सम्पर्कविहीन रहेका संयोजक धमलाले जानकारी दिए। घटना भएको करिब एक घण्टाभित्रै पर्यटक प्रहरी, ट्राभल तथा ट्रेकिङ कम्पनी र कैलाश(मानसरोवर टुर अपरेटरहरूसँग समन्वय गरी खोज तथा उद्धार कार्य सुरु गरिएको उनको भनाइ छ ।

प्रतिवेदनमा विपद्पछिको पर्यटन पुनरुत्थानलाई क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा मात्र सीमित नगरी भविष्यमा देखिन सक्ने जलवायुजन्य जोखिमलाई समेत ध्यानमा राखेर सुरक्षित तथा दिगो पर्यटन प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोर्डका कार्यकारी सदस्य धमलाले बाढीपहिरोबाट पर्यटन व्यवसाय, होटल तथा पदमार्गमा ठूलो क्षति पुगेको बताए । उनले बाढीप्रभावित व्यवसायीका लागि तत्काल राहत, कर छुट तथा सहुलियतपूर्ण पुनरुत्थान प्याकेज आवश्यक रहेको उल्लेख गरे।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार  ०६ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।