फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल–रेष्टुराँमा छुट


काठमाडौँ । फ्लाई दुबईले बुधबारदेखि सुरु गर्न लागेको दुबई–पोखरा–दुबई सीधा उडानलाई लक्ष्य गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले यात्रुका लागि छुट योजना ल्याएका छन् ।

होटल सङ्घ पोखराले फ्लाई दुबईबाट आउने यात्रुलाई तीन महिनासम्म होटलमा २५ प्रतिशत छुट दिने जनाएको छ । हालसम्म ५० होटल छुट योजनामा सहभागी भएका छन् । पहिलो उडानबाट पोखरा आउने यात्रुलाई एक रातको बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क उपलब्ध गराइनेछ ।

यस्तै, रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले पनि फ्लाई दुबईको बोर्डिङ पास भएका यात्रुलाई आबद्ध रेष्टुराँमा १५ देखि २० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाई दुबईको जहाज बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने ७ः१५ बजे दुबईका लागि उड्नेछ । उडान दैनिक सञ्चालन हुने तालिका छ ।

फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको कोडसेयर साझेदारीका कारण पोखराबाट दुबई हुँदै अष्ट्रेलिया, युरोप तथा अमेरिकालगायत गन्तव्यमा एउटै टिकटबाट यात्रा गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार  ०८ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।